वीरगञ्ज, साउन ९ । वीरगञ्ज महानगरपालिका–२ छपकैयाँकी ४ वर्षीया बालिका साउन ५ गतेदेखि नै हराइरहेकी थिइन् । बेलुका ७ बजेसम्म घर नआएपछि परिवारले खोजी सुरु गरे । अभिभावकले छरछिमेक, साथीभाइ र आफन्त सबैसँग सोधखोज गरे । तर उनी फेला परिनन् ।

भोलिपल्ट साउन ६ गते शुक्रबार हजुरबुबा मो.मैनुदिन मिया ठकुराईले नातिनी हराएकाले खोजी दिन आग्रह गर्दै प्रहरीमा निवेदन दिए । प्रहरीले खोजी गर्दै थियो ।

छिमेककै अन्दाजी १२ वर्षीय बालकले बालिकाको शव झाडीमा रहेको भनी अभिभावकलाई खबर गरे । साउन ७ गते बिहान वीरगञ्ज–२ छपकैयास्थित खाली जग्गाको झाडीमा विभत्स अवस्थामा बालिका मृत भेटिइन् । अभिभावकहरुले शव उठाएर घरमा ल्याए ।

मैनुदिन भन्छन्, ‘नातिनीको खोजतलास र चिन्ताले राति अबेरसम्म निद्रा परिरहेको थिएन, बिहान म सुतेकै थिएँ, छिमेककै १२ वर्षीय किशोरले नातिनीको शव झाडीमा छ भनेको रहेछ । बुहारीसहित घरका सदस्य सबै दौडदै घटनास्थल पुगेछन् । शव उठाएर ल्याएछन् ।’

घरका सदस्यहरुले शव घरमा ल्याइसकेपछि बिहान ७ बजेतिर मात्रै प्रहरीले शव भेटिएको खबर पाएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल सहितको टोली घटनास्थल अनुसन्धानका लागि पुग्यो ।

जसले शव देखाए उनै शंकाको घेरामा

सोधखोज गर्ने क्रममा बालिकाको शव देखाउने अन्दाजी १२ वर्षीय बालक नै पहिला शंकाको घेरामा परेको प्रहरी निरीक्षक मल्ल बताउँछन् । ‘प्रारम्भिक सोधपुछको क्रममा उसको संलग्नता खुल्यो । उसले आफू बाहेक अन्य ३ जनाको पनि संलग्नता रहेको बतायो,’ उनले भने, ‘जबरजस्ती करणीपछि कर्तव्य गरी मारेको भनी खुल्यो ।’

उनै १२ वर्षीय बालकले दिएको बयानको आधारमा थप तीन जनालाई पक्राउ गरिएको मल्लले बताए । १२ वर्षीय बालक सहित वीरगञ्ज–२ बस्ने १९ वर्षीय जफ्रुदिन भन्ने सलमान खान, वडा नं. १६ नगवा बस्ने १८ वर्षीय सलमान खान वीरगञ्जमै पक्राउ परे भने घटनापछि दिल्ली फरार भएका १७ वर्षीय अभियुक्तलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

आरोपितहरू विरुद्ध जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा साउन ८ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।