सप्तरी : सप्तरीको महादेवा गाउँपालिकास्थित प्रसिद्ध अङ्कुरी महादेवको मन्दिरमा ३० किलो तामा धातुको बसाहा स्थापना गरिने भएको छ । वैदेशिक रोजगारमा रहेका युवाहरूद्वारा सङ्कलित रु दुई लाख २४ हजार नौ सय २३ लागतमा सोे बसाहाको प्रतिमा तयार गरिएकोे हो ।

सो मन्दिरका पुजारी पवन गिरीले मन्दिरको गरिमा बढाउने र प्रचारित गर्ने उद्देश्यले मलेसिया, दुबई, कतार र साउदी अरेबियाको विभिन्न सहरमा रोजगारी गरिरहेका तिलाठी कोइलाडी गाउँपालिका–६ र ७ नं वडाका २० युवाहरूले प्रतिमाका लागि रकम सङ्कलन गरेको जानकारी दिनुभयो ।
बसाहाको प्रतिमा राख्ने स्थलको महादेवा गाउँपालिका अध्यक्ष सुनिलकुमार मण्डल र तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले आज संयुक्तरूपमा शिलान्यास गर्नुभएको छ । गत फागुन १६ गते मन्दिर परिसरभित्र नवनिर्मित मन्दिरमा पार्वतीको मूर्ति स्थापना गरिएको थियो ।

अङ्कुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा तथा तिलाठी कोइलाडीको सीमामा रहेको महादेवा गाउँपालिकामा पर्छ । विभिन्न शिवलिङ्गहरू कतैउत्खनन, निर्माण त कतै स्थापना गरिएको छ तर अङ्कुरी महादेव आफैँ माटोबाट निस्केको महादेवा गाउँपालिका–५ का चौठीलाल खंगखत्वेले बताउनुभयो । मैथिलीमा उम्रिएकालाई अङ्कुर भनिने भएकाले माटोबाट उम्रेको दन्त्य कथाअनुसार अङ्कुरी महादेव नाम रहन गएको स्थानीवासीहरूको भनाइ छ ।

मन्दिरको ख्याति बढ्दै गएकाले पछिल्लो समय भक्तजनको भीड बढदै गएको पुरोहित गङ्गाई यादवले बताउनुभयो । श्रद्धाका केन्द्रविन्दु भएकाले अङ्कुरी महादेवकै नामबाट पहिले पनि महादेवा गाविस नाम रहन गएको दशनीदेवी खंगले जानकारी दिनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात सप्तरीको साविक महादेवासहित पकरी, डाढा, बथनाहार भगवतपुर गाविस समावेश गरिए पनि प्रसिद्धिका कारण गाउँपालिकाको नाम महादेवा नै रह्यो ।

शिवभक्तका लागि प्रसिद्ध तीर्थस्थल अङ्कुरी महादेवा मन्दिरमा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीजस्ता चाडमा ठूलो मेला लाग्छ । यो पवित्र यज्ञ गर्ने पवित्र स्थानसमेत भएको मन्दिर समितिका अध्यक्ष भोगेन्द्र राउतले बताउनुभयो ।

मुख्य मन्दिरमा शिवलिङ्ग छ भने अन्य मन्दिरमा देवी पार्वती र भगवान् हनुमानको मूर्ति छ । शिवलिङ्गको माथिल्लो भागमा मुट्ठीको आकारको दाँत छ । गाउँलेहरूका अनुसार यो ठाउँ धेरै पहिले श्मशान थियो र एक अलग ठाउँ थियो । वरपरका गाउँका केही गोठाला त्यहाँ जान्थे । उनीहरूले शिवलिङ्गलाई धेरैपटक आफ्नो घरमा ल्याए, तर शिवलिङ्ग आफ्नै ठाउँमा फर्किन्थ्यो भन्ने किंवदन्ती छ ।