वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले यस आर्थिक वर्षमा कुनै पनि योजना रकमको अभावले अधुरो नहुने दाबी गर्नु भएको छ ।

मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा निर्माण गर्न लागिएको ५ किलोमिटर लामो पक्की सडकको आज एक कार्यक्रमका बीच शिलान्यास गर्दै मुख्यमन्त्री राउतले गरिएको छ ।

पर्सा क्षेत्र नम्बर १ (ख) अन्तरगतको नगवामा अब कुनै पनि गल्ली पक्की तथा ढलान हुन बाँकी नरहने बताउँदै सबै गल्लीहरूमा ढलान तथा पक्की सडक निर्माणका लागि रकम बिनियोजन गरेर निर्माण कार्य अगाडी बढाइने दाबी गर्नु भयो ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले युवाहरूको सशक्तीकरणलाई प्राथमिकतामा राखेको बताउँदै नगवा युवा क्लबको भवन निर्माणका लागि ५० लाख रुपैयाँ बिनियोजन गरेको बताउनुभयो ।

उहाँले मन्दिर, विद्यालयसहित कुनै योजना छुटेको भए जानकारी गराउन आग्रह गर्दै सबै निर्माण गर्ने जिम्मा आफूले लिने दाबी गर्नुभयो ।

वीरगंजको लक्ष्मणवा, भिस्वा, नगवा, ईनर्वा क्षेत्रलाई जोड्ने ४.५ किलोमिटर सडक निर्माण का लागि गत असार ९ गते सिवाको कन्स्ट्रक्सन प्रा.ली. काठमाण्डौसँग आगामी २०८० पुस ८ गते सम्म  निर्माण सम्पन्न हुने गरी ६ करोड ५३ लाख ६८ हजार ५ सय ३० रुपैयाँमा सम्झौता भएको छ ।

मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालय पर्साद्वारा निर्माण हुने सडकको शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य भिमा यादव, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समिति पर्साका निवर्तमान सभापति नेकमहमद अन्सारी, वडा अध्यक्ष परशुराम चौरसिया लगायतको उपस्थिति रहेको थियो ।