कमलेश ठाकुर,

जनकपुरधाम । मधेश प्रदेश सरकारले काम नहुँदै भुक्तानी दिएको पाइएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले तीन वटा फार्मलाई काम नहुँदै भुक्तानी दिएको पाइएको छ ।

महोत्तरीको भंगहा नगरपालिका ९ अजगैवास्थित रामजतन साह सञ्चालक रहेको द्वारिका गाई फार्म, धनुषाको लक्षमीनियाँ गाउँपालिकाका हाइवे पशुपालन फार्म र मिथिला विहारी नगरपालिका ठेरास्थित विषणुदेव झा सञ्चालक रहेको अरगेनिक फार्मलाई काम नहुँदै दश/दश लाख भुक्तानी दिइएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा गाई गौशाला तथा ठूला व्यवसायिक पशु फार्महरुमा प्राङ्गरिक मल तथा गड्यौले मल उत्पादनमा अनुदान सहयोग कार्यक्रमका लागि धनुषाको दुई र महोत्तरीको एक फार्मलाई दश/दश लाख अनुदान दिइएको थियो । सर्लाहीको एक फार्मले सम्झौता गरे पनि काम गरेनन् ।

रामजतन साह सञ्चालक रहेको फार्मलाई भुक्तानी दिइसके पनि हालसम्म मात्र ५० प्रतिशत काम गरेको देखिएको छ ।
आर्थिक वर्ष सकेको एक महिना बित्न लाग्दासमेत काम सम्पन्न भएको छैन् । फार्मका सञ्चालक साहले काम पुरा नभएको स्वीकार गरका छन् । यद्यपि एक हप्ताभित्र काम पुरा भइसक्ने उनले बताए । कर्मचारीकै आलटालको कारण काम पुरा नभएको उनको भनाइ छ । ‘धेरै कुरा छ, सबै कुरा फोनमा भन्न सकिनन् । भेट भएको बेला भन्नुपर्ने कुरा छ,’उनले भने,‘म बरु सरकारको पैसा सरकारलाई नै फिर्ता गर्दिन्छु तर त्यस्तो कहिल्यै गर्दिन् ।’ अप्रत्यक्ष रुपमा उनले कर्मचारीहरुले कमिसन माग गरेको तर्फ संकेत गरे ।

कार्यालय निर्देशक जागेश्वर यादवले फार्म सञ्चालकको प्रतिबद्धताको आधारमा भुक्तानी दिएको बताए । ‘काम गर्ने कमिटमेंट गरेको छ । काम गर्नै पर्छ,’उनले भने,‘फेरि एक पटक ताकेता गर्छु, छिट्टो काम सकाउन । भएन भने अर्को उपाय लगाउनु पर्छ ।’ कार्यालयका अधिकृत रञ्जित कुमार अधिकारीले विश्वासको आधारमा भुक्तानी दिइएको बताए । काम पुरा नगरे असुल उपर गरिने उनको जिकिर छ । ‘भुक्तानी भइसकेपनि काम गरेको छैन भने असुल उपर हुन्छ,’उनले भने,‘आर्थिक वर्षको अन्तिममा आएर काम गर्ने प्रकृया अगाडि बढाउँदा काम हुन सकेको छैन् ।’

तर स्रोतका अनुसार कार्यालयका कर्मचारी हाकाहाकी ती फार्मका सञ्चालकसँग ५० प्रतिशत कमिसन मागेको हुनाले फार्म सञ्चालकहरु कामै अगाडि बढाएका छैनन् । निर्देशक यादव र अधिकृत रञ्जित महोत्तरी, भंगहा नगरपालिका-९ अजगैवा स्थित रामजतन साह सञ्चालक रहेको द्वारिका गाई फार्ममा दुई पटक कमिसन रकम लिन पुगेको बताइन्छ । तर साह भने कर्मचारीहरु आउने खबर पाएपछि बाहिर छु भन्दै फर्काउने गरेको बुझिएको छ ।

कमिसनको आरोप बारे अधिकृत रञ्जितले अनभिज्ञता प्रकट गरे भने निर्देशक यादवले यो विषयमा अन्य कर्मचारीसँग बुझेर थप जानकारी दिने भन्दै पञ्छिए । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजयकुमार यादवले काम नहुँदै भुक्तानी भएको देखिए कर्मचारी र फार्मका सञ्चालकहरुलाई कारबाही गरिने बताए ।