रामएकवाल राम
दोहा, कतार : हेल्प मधेशी कतार च्यापटरले यहाँको सरकारी हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन सेन्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रगत अभावको कारणले कसैको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ आउँदो सेप्टेम्बर ०९ तारिक शुक्रबारका दिन मधेश प्रदेश अन्तर्गत रहेका जिल्ला सस्थाहरुको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको च्यापटर कतारले जनाएको छ ।

रक्तदान गर्नु जीवन दान गर्नु सरह भएको हुँदा कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाहरू, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरू लगायत कतारलाई कर्मथलो बनाएर रहेका सम्पूर्ण नेपालीहरुलाई रक्तदान कार्यक्रममा सहभागी भइदिन च्यापटर कतारका अध्यक्ष रामकुमार यादवले अनुरोध गरेका छन् । उनले कार्यक्रम बिहानको ८ बजे देखि शुरु हुने जानकारी दिए्को हो ।

रक्तदान गर्न चाहिने योग्यता तथा प्रावधानहरु –
कतारमा लगातार ६ महिनाभन्दा बढी अवधि बसोबास गरेको हुनु पर्नेछ
रक्तदान पूर्व पछिल्लो २४ घण्टा कुनै पनि मदिरा सेवन नगरेको
रक्तदान पूर्व पछिल्लो २४ घण्टामा ८ घण्टा सुतेको हुनुपर्ने
१८ वर्ष पूरा भैइ ६५ वर्ष उमेर भित्रका,
शारीरिक तौल कम्तिमा ५० किलो हुनुपर्ने,
३ महिना भित्रै रक्तदान नगरेका,
बल्ड प्रेसर, सुगर लगायतका कुनै दीर्घ रोगी नभएका
कोभिड १९ पोजिटिभ भएका व्यक्तिले टेस्ट निगेटीभ भएको र लक्षण देखिन छोडेको १४ दिन पछाडी ( रक्तदान ) गर्न सकिनेछ ।
वैद्य कतारी आइडी कार्ड साथमा हुनु पर्ने प्रावधान रहेको छ ।
रक्तदान गर्ने दिन वा हालसालै बिरामी नपरेका