जनकपुरधाम । नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।

राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसको मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा सोमबार बिहान नेताकार्यकर्ताहरुले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका हुन् । केन्द्रको निर्देशन बमोजिम राजमार्ग बन्दको कार्यक्रम गरिएको कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोले बताए ।

प्रदर्शको क्रममा नागरिकता पीडितहरुको सहभागीता रहेको थियो । उनीहरुले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । बन्दकर्ताहरुले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।

गत साउन ६ गते संघीय संसद‍बाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो ।