चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताएका छन् ।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताए ।

नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।”

झण्डै छ,सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको उल्लेख गर्दै उनले भने, “आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।”