काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचनामा डोजर चलाउन सुरु गरेको छ । मेयर बालेन साहका स्वकीय सचिव भूपदेव साहका अनुसार अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो उक्त संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन सुरु गरिएको हो ।

अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर साह बिहीबार विहान नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए । सोही क्रममा अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित समेत भएका थिए ।

अल्फा बिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए । ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो ।

त्यसोत, हिजो मात्रै महानगरले काठमाडौं मल, आरबी कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए । त्यस्तै अन्य विभिन्न ठाउँहरुमा पनि अवैध संरचना तत्काल भत्काउन निर्देशनसमेत द्रिइसकेका छन् ।