जनकपुरधाम : कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले आर्थिक वर्ष २०७८/७९ मा रु १९ करोड १२ लाख मूल्य बराबरको रासायनिक मलखाद बिक्री गरेको छ ।

यस आवमा रु १२ करोड १३ लाखको डिएपी, रु छ करोड ५२ लाखको युरिया र रु ४६ लाखको पोटास बिक्री गरेको कार्यालय प्रमुख बेचन साहले जानकारी दिनुभयो । आव २०७८/७९ मा पाँच हजार मेट्रिक टन युरिया, चार हजार पाँच सय मेट्रिक टन डिएपी र एक सय टन पोटास मल बिक्री गर्ने वार्षिक लक्ष्य रहेकामा तीन हजार आठ सय तीन मेट्रिक टन युरिया, दुई हजार पाँच सय ९१ मेट्रिक टन डिएपी र ३० टन पोटास मात्र आपूर्ति भएको उहाँले बताउनुभयो ।

आव २०७८/७९ मा आपूर्ति भएको र अघिल्लो आवको समेतबाट युरिया चार हजार ६७ मेट्रिक टन, डिएपी दुई हजार छ सय ९६ मेट्रिक टन र पोटास एक सय ३९ दशमलव चार सय ५० टन बिक्री भएको प्रमुख साहले बताउनुभयो । आव २०७७/७८ मा कृषि सामग्री कम्पनी जनकपुरधामले रु २५ करोड ३९ लाख बराबरको रासायनिक मल बिक्री गरेको थियो । अघिल्लो आवको भन्दा आव २०७८/७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएकाले बिक्री घटेको हो ।

आव २०७७/७८ मा छ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल माग गरेकामा युरिया तीन हजार दुई सय मेट्रिक टन र डिएपी चार हजार पाँच सय मेट्रिक टन आपूर्ति भएको थियो । आव २०७७/७८ मा भन्दा आव २०७८/७९ मा रासायनिक मल कोटा बमोजिम आपूर्ति नभएको साहको भनाइ छ । चालु आव २०७९/८० को साउनको अन्तिम साता आइपुगेको युरिया तीन सय ६० मेट्रिक टन र अघिल्लो आवको ४७ दशमलव तीन सयसमेत गरी चार सय पाँच दशमलव नौ सय ५० मेट्रिक टन युरिया वितरण भइरहेको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गर्दै आएको जनाएको छ ।

“हामीलाई जति मल मात्र प्राप्त भएको छ, त्यसलाई कोटाबमोजिम स्थानीय तहको सिफारिसमा वितरण गर्दै आएका छौँ”, साहले भन्नुभयो, “मल आएलगत्तैबाट बिक्री-वितरण सुरु गरेका छौँ, तर मागबमोजिम मल उपलब्ध गराउन नसकिएकाले सबै किसानले पाउने अवस्था छैन ।” बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखादको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसको आधारमा सहकारी संस्थाका डिलरलाई वितरण गर्दै आएको साह बताउनुहुन्छ ।

डिएपी र युरिया बर्सेनि आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी जनकपुरधाले झण्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । धानबालीको बेला भएकाले युरिया र डिएपीको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण धनुषा र महोत्तरीमा युरिया र डिएपीको आभाव हुने गरेको उहाँले बताउनुभयो ।

डिएपी र युरियाको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक-पटक पत्राचार गरे पनि बर्सेनि आपूर्ति घट्दै गएकाले समस्यामा परेको उहाँको भनाइ छ । यसरी डिएपी र युरियाको आपूर्ति कम भएपछि किसानलाई मलखादको समस्या भइरहेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताउनुभयो । मागअनुसार मलको आपूर्ति नहुँदा बर्सेनि किसानले मलका लागि डिलर चहार्ने गरे पनि सहजरूपमा पाउने अवस्था नरहेको उहाँको भनाइ छ ।