रौतहट । रौतहटको विभिन्न नाकाबाट भारतीय सामानको तस्करी बढेको छ। भारतको सीमासित नाका जोडिएका विभिन्न गाउँ भएर पनि भारतीय सामान भन्सार छली ल्याउने क्रम बढेको पाइएको छ।

रौतहटको सीमा क्षेत्रका सशस्त्र प्रहरीको मिलोमतोमा ब्यापक तस्करी भइरहेको छ । दुई जिल्लाको सीमानामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको मिलोमतोमा नेपाली र भारतीयहरुको संगठित तस्कर गिरोहले व्यापकरुपमा तस्करी गरिरहेका छन् ।

रौतहटको बोर्डर आउटपोष्ट बंकुल, बेलबिछवा,बडकाबंकुल, लगायतका नाकाबाट हाल तस्करी भइरेको छ । जिल्लाको पश्चिमी तथा दक्षिणी सीमासित जोडिएका बंकुल, कचोर्वा, नरकटिया, मठिया, बन्जरहा, औरैया, रामपुर खापलगायतका विभिन्न नाकाहरुमार्फत भारतीय बजारबाट राजस्व छलीका सामानहरु निर्वाध रुपमा नेपाल भित्रिने कार्य भइरहेको छ।

भारतीय बजारबाट सर्ट–पाइन्टको कपडा, साडी, स्पेयर पार्टसहरु, खैनी, कुखुराको चल्ला, सेतो अण्डा, खाने तेल, चप्पललगायत दैनिक उपभोग्यका वस्तुहरु अहिले निर्वाध रुपमा रौतहटको विभिन्न नाकाबाट भित्रिने क्रम जारी रहेको पाइएको छ। बंकुल, कचोर्वा, नरकटिया र रामपुर खापबाट दर्जनौँ तस्करहरुले निर्वाध रुपमा दैनिक अवैध कारोबार गरेको पाइएको छ।

मोटरसाइकल, साइकलमा राखेर भारतबाट कपडा, चिनी, स्पेयर पार्टस, खैनी, गुटखालगायत भारतीय सामान अबैधरुपमा प्रहरीकै मिलोमतोमा भन्सार छलेर रौतहटको बजारहरुमा भित्रिरहेको छ । त्यसैगरी नेपालबाट विभिन्न ब्राण्डको मदिरा लगायत केही चिनियाँ सामान नेपालबाट तस्करीको माध्यमले भारततर्फ पुर्याइरहेका छन ।

भारतको पूर्वी चम्पारण घोडाशहन थानाक्षेत्र अन्तरगतका श्यामसुन्दर यादव, प्रभु यादव, विकास यादव, अरबिन्द यादव लगायत आधादर्जन तस्कर र बारा गुडु मियाँ, ओमप्रकास यादव लगायतको संगठित गिरोहले सशस्त्र प्रहरीलाई आर्थिक प्रभावमा पारेर तस्करी गराइरहेका छन ।