जनकपुरधाम : नेकपा एमालेका नेता रघुबीर माहासेठ दम्पतीलाई पार्टीबाट दबाब परेको छ । नेकपा एमालेले रघुबीर माहासेठ अथवा जुली महतो मध्ये एक जनालाई मात्र चुनावमा उठ्न दबाब दिइएको छ ।
श्रीमान र श्रीमति दुबै जना एक साथ चुनावमा सहभागी भए दुबै जना चुनाव हार्ने र पार्टीमाथि परिवारवादको आरोपसमेत लाग्ने हुँदा एमालेका शीर्ष नेतृत्वले दुई मध्ये एक जनालाई मात्र चुनावमा उठ्न दबाब दिइरहेको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले माहासेठ दम्पतीलाई बोलाएर नै उक्त विषयमा दबाब दिएको एमाले स्रोतको भनाई रहेको छ । जुली महतो यसअघि समानुपातिकबाट सांसद भएर मन्त्रीसमेत भइसकेकी छिन् भने महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुन् ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा धनुषा ४ बाट महासेठ र धनुषा ३ बाट जुली महतो चुनावमा उठ्ने तयारी गर्दै छिन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा श्रीमान श्रीमति दुबै जना चुनावमा उठ्दा दुबै जना पराजित भएका थिए ।
२०७४ को निर्वाचनमा महासेठ मात्र प्रतिस्पर्धामा हुँदा महासेठले चुनाव जितेका हुन् । यस पटक पनि एमाले शीर्ष नेतृत्व र नेता तथा कार्यकर्ताहरुले पनि दुई जना मध्ये एक जनालाई मात्र निर्वाचनमा उठ्न दबाब दिइरहेको छ ।
पछिल्लो निर्वाचनहरुमा धनुषाबाट परिवारवादी नेताहरु समाप्त हुँदै गएका छन्। स्व.हेमबहादुर मल्ल दम्पतीको विरासत पनि समाप्त भएको छ भने स्व.महेन्द्रनारायण निधिको उत्तराधिकारी विमलेन्द्र निधिलाई समेत जनताले चुनाव हराएर पठाएका छन्। यसैगरी पूर्व राष्ट्रपति डा.रामबरण यादवको परिवारवादलाई समेत धनुषाका जनताले अस्वीकार गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सचिव भएको नाताले रघुबीर महासेठलाई चुनावमा उठ्ने बाध्यता रहेको छ। यता जुली महतोले पुनः समानुपातिकमा प्रतिनिधिसभामा जाने बाटो बन्द भएको छ। पार्टीको दबाबमा अन्तिम समयमा जुली महतो प्रत्यक्ष निर्वाचन छोडेर राष्ट्रिय सभामा जाने सम्भावना रहेको महतो निकट स्रोतको बुझाई रहेको छ।
Discussion about this post