मधेशटप,संवाददाता । राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपति समक्ष पठाउने तयारी भएको छ ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक शुक्रबार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ ।

यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । गएको भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधिसभाले विधेयक पास गरेर राष्ट्रियसभामा पठाएको थियो । राष्ट्रियसभाले विधायन समितिमा पठाएको नागरिकता विधेयक त्यहाँबाट पनि हुबहु विधेयक पारित भयो।

राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयक फेरि बहुमतका साथ दुवै सदनबाट हुबहु पारित भएपछि अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।