महोत्तरी । आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जनता समाजवादी पार्टी नेपालले महोत्तरी जिल्लाको क्षेत्र नम्बर -३ को (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवारको लागि हरिनारायण मण्डलको नाम सिफारिस गरेको छ ।

२०३६ सालदेखि नै राजनीतिमा लागेका हरिनारायण मण्डल मधेश आन्दोलन २०६२/०६३ को मधेश आन्दोलनको बेलादेखि पूणर् रुपेन सक्रिय राजनीतिमा आउनुभएको हो ।

उहाँले मधेश आन्दोलनको बेला सधैं अग्र मोर्चामा रहेर आन्दोलन गरेको तथा मधेश आन्दोलन सफल बनाउन २०६२/०६३ देखि २०७२/०७३ सम्म महत्वपूणर् भूमिका खेल्नुभएको कारण नै आज मधेशको मुख्य पार्टी जसपा नेपालले उहाँलाई महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

विद्यार्थी कालदेखि नै राजनीति गर्दै विभिन्न समाजसेवामा लागेका नेता हरिनारायण मण्डल कुशल राजनीतिकर्मी र सच्चा समाजसेवी भएकै कारण गाउँमा रहेको प्रा.वि. तथा मा.वि. दुवै विद्यालयको व्यवस्थापन समिति अध्यक्ष भएर चलाउनुभएको थियो ।

मधेश आन्दोलन पश्चात निर्मित तराई मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध हुनुभएका उहाँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर -४ को क्षेत्रिय सभापति भएर २ कार्यकाल चलाउनुभएको थियो ।

नेता मण्डल संविधान सभा सदस्य दोस्रो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट तमलोपा पार्टीबाट चुनाव पनि लड्नुभएको थियो भने झिनो अन्तरले हार बेहोर्नुपरेको थियो ।

पारिवारमा पनि राजनीतिक ईतिहास बोकेका नेता मण्डलको काका राम अशिष मण्डल तत्कालिन बहेरा जब्दी गा.वि.स तथा पछि कोल्हुवा बगेया गाविसको ४ पटक सम्म अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने स्व.राजा विरेन्द्रसँग पञ्चायती कालमा गोल्डमेडल पनि पाउनुभएको थियो ।

उहाँको निधनपछि जनताको सेवा गर्ने पारिवारिक दायित्व नेता हरिनारायण मण्डलले आफ्नो काँधमा लिनुभयो भने आजसम्म समाजसेवामा समर्पित भएर जनताको सुखदुःखमा सधैं साथ र सहयोग गर्दै आउनुभएको छ ।

समय, काल र परिवेशसँगै राजनीतिमा उतार चढाव हुनुलाई स्वभाविक रुपमा लिने नेता हरिनारायण मण्डल अहिले जसपा नेपालबाट आफूले प्रदेशसभा सदस्यको निर्वाचनका लागि महोत्तरीको क्षेत्र नम्बर ३(ख)बाट सिफारिस हुनुभएकोमा निक्कै खुशी हुनुभएको छ । उहाँले आफूनो नाम जिल्लाबाट सिफारिसमा परेर प्रदेशले समेत अनुमोदन गरेर केन्द्रमा पठाइसकेकोमा टिकट पनि आफूले पाउने पक्कापक्की रहेको बताउनुहुन्छ ।

त्यसैले नेता हरिनारायण मण्डलले महोत्तरीको क्षेत्र नम्बर ३(ख) को जनतालाई आउँदो निर्वाचनमा आफूलाई बहुमत दिएर निर्वाचित गराउनुहुन आग्रह गर्नुभएको छ । उहाँले आफ्नो उम्मेदवारी एउटा आन्दोलनको लागि हुने, परीक्षाको लागि हुने र मधेश तथा मधेशीलाई पूणर्रुपेन अधिकार सम्पन्न बनाउनको लागि गरिने संघर्षको लागि हुने बताउनुहुन्छ ।

उहाँले विकास त निरन्तर चल्ने क्रम हो, भइरहन्छ जति बजेट आउँदै जनप्रतिनिधिले गर्नैपर्छ भन्नुहुँदै जनताले आफूलाई मौका दिएमा आफूले जनताको जीवन स्तर तथा भविष्य सूरक्षित र सुनिश्चित हुने किसिमको काम गरेर देखाउने तथा सधैं जनताको सेवामा समर्पित रहने बताउनुभयो ।

उहाँले आफूलाई अझै पनि मधेश आन्दोलनको बेला पार्टीले उठाएको मुद्दा याद रहेको आफूले मधेश र मधेशीको मुद्दा तथा आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्नुभएका साथीहरुलाई सधैं साथमा लिएर हिड्ने तथा वास्तवमा शहिदले देखेको सपनालाई पूरा गर्नका लागि कटिबद्ध रहने प्रतिबद्धता प्रकट गर्नुभयो ।

नेता मण्डलले आफुले निर्वाचनमा जित हासिल गरेमा पहिलो प्राथमिकता मणिपाल कलेज निर्माण, कृषि क्षेत्रमा नयाँ प्रविधि सहितको क्रान्ति, गुणस्तरीय स्वास्थ्य तथा प्रतिस्पर्धात्मक शिक्षाको व्यवस्थापन गर्नुका साथै बढ्दो बेरोजगारी र युवा शक्तिलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यस क्षेत्रमा उद्योग, कल कारखाना निर्माण गर्नु/गराउनु आफ्नो प्रमुख एजेण्डा हुने र तीनै एजेण्डाको लागि काम गर्ने वचन समेत दिनुभयो ।

उहाँले जनताले आफूलाई सेवाको अवसर दिएमा आफ्नो जीत सुनिश्चित रहेको बताउनहुँदै आफूले टिकट पाएको खण्डमा सम्पूणर् जनतालाई आफ्नो अमुल्य मत दिएर बिजयी बनाइदिनुहुन आग्रह गर्नुभयो ।