जनकपुरधाम । उच्च अदालत जनकपुरले सञ्‍चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा सुनुवाइ सुरु गरेको छ । जिल्ला अदालत धनुषाको निर्णयको विरुद्धमा उच्च अदालतमा मुद्दाको सुनुवाइ बुधबारबाट सुरु भएको हो ।

घटनाका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्‍त्री संजय साहले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । बुधबारदेखि उच्च अदालत जनकपुरमा मुद्दाको सुनुवाइ सुरु भएको वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार ऊक्त मुद्दाको सुनुवाइ सोमबारसम्म हुनेछ । पूर्वराज्यमन्‍त्री साहलाई सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्‍मकैद सजायको फैसला सुनाएको थियो ।

विजय गच्छदार मन्‍त्री रहेको भौतिक पूर्वाधार मन्‍त्रालयमा साह राज्यमन्‍त्री रहेकै बेला सिंघानियाको हत्या भएको थियो ।

साहलाई सिंघानिया हत्या काण्डको मुख्य योजनाकार सावित गर्दै जन्‍मकैदको सजाय सुनाएको हो । साह अहिले ललितपुरस्थित नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।