काठमाडाैं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट शुक्रवार साँझसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका ४ दलको बैठक अहिले बालुवाटारमा जारी छ ।
शुक्रवार बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सहभागी नभएको ५ दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए ।
बिहीवारसम्म जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बालुवाटार वार्तामा सहभागी भएको छ ।
लोसपाका नेता अनिल झा सत्तारुढ गठबन्धनको वार्ताका आधारमा तालमेल हुने वा नहुने निश्चित हुने जानकारी दिए ।
कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा ४ दलले शुक्रवार साँझसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने उनले बताए । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै शुक्रवार अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि असोज २३ गते आइतवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ । यसका लागि अब शनिवारसम्म समय बाँकी रहेकाले पनि शुक्रवारै बाँडफाँट सक्न ४ दल लागेका छन् ।
सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत शीर्ष नेतृत्वको सहभागिता रहेको बताइएको छ ।
Discussion about this post