वीरगञ्ज । आइतवार सांझसम्म पर्सामा संघ र प्रदेशका लागि १ सय ४४ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी जिल्लामा रहेको १२ पदका लागि १ सय ४४ जनाको उम्मेदवारी दिएका छन् ।

पर्सामा रहेको चार प्रतिनिधिसभामा दुबै गठबन्धनका ८ जना र स्वतन्त्र गरी ५० जनाको उम्मेदवारी परेको छ । जसमा पर्सा क्षेत्र नम्बर १बाट नेपाली कांगे्रेसका अजय द्विवेदी र क्षेत्र नम्बर ४बाट नेकपा माओवादीका टेक बहादुर शाक्यले सत्ताधारी गठबन्धनको निणर्यको विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी आठ प्रदेशसभा क्षेत्रको लागि ८२जना स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् ।

यस्तै आठ प्रदेशसभा सदस्यका लागि ९४ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या ५८ छ । पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन् ।

जसमध्ये दलगत रुपमा १० जनाको र स्वतन्त्र १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिए । यस्तै प्रदेशसभा सदस्यका लागि पर्सा १ को (क) मा १७ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रदेश तर्फको पर्सा १ को (ख) मा १६ जनाको उम्मेदवारी परेकोमा १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

त्यस्तै पर्साको निर्वचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फ ११ जनाले उम्मेदवारी दिएकोमा ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी पर्सा क्षेत्र नम्बर २ को (क ) मा प्रदेशसभा सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।

ती मध्ये ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै पर्सा २ को (ख) तर्फ प्रदेशसभा सदस्यका लागि १४ जनाको उम्मेदवारी दर्ता भएकोमा ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि ११ जनाको उम्मेदवारी परेकोमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेश सभा सदस्यमा पर्सा ३ को (क) बाट १३ जनाले उम्मेदवारी दिएकोमा ८ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

त्यस्तै पर्सा ३ को (ख) मा १४ जनाले उम्मेदवारी दिएकोमा ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत योगनाथ ढकालले जनाए ।
पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यसैगरी पर्सा ४ को (क) मा प्रदेश सभा सदस्यका लागि ४ जनाको उम्मेदवारी परेकोमा १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ४ को (ख) बाट ७ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको स्वतन्त्र उम्मेदवारी परेको क्षेत्र ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले जनाए ।