काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै यादवले सो कुरा बताएका हुन् । मंसिर ४ गते हुने प्रतिनिधिसभामा ९ र प्रदेशसभाका लागि २१ सिटमात्रै दिएर पुरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्न खोज्ने कांग्रेस र माओवादी केन्द्रको चक्रब्यूहबाट निस्कन सफल भएको उनले बताए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्य पदमा ८१ र प्रदेशसभामा एक सय ४५ स्थानमा जसपाले उम्मेदवारी दिएको छ भने १७ ठाउँमा प्रतिनिधिसभा र ४२ ठाउँमा प्रदेशसभा सिटमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ ।

यादवले मधेसलाई समृद्ध बनाउन र मधेसीहरूको अधिकार स्थापित गर्न जसपाले मात्रै सक्ने दाबी गरे । उनले देशको मार्गदर्शन गर्ने जिल्लाका रूपमा चिनिएको सप्तरीबाटै पुनः चुनाव जितेर मधेस र देशलाई समृद्ध बनाउने उनको भनाइ थियो ।