जनकपुरधाम । मंसिरमा ४ मा हुने निर्वाचनका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदाताहरुलाई प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधि नगर्न राजनीतिक दल तथा उम्मेवारहरुलाई निर्वाचन आयोगले निर्देशन बारम्बार दिइरहेको छ । तर धनुषामा उम्मेदवारले मतदातालाई प्रभावमा पार्ने काम गरेका छन् ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पाल्ना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहे पनि धनुषा क्षेत्र नम्बर-३ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले घरदैलोमा बालबालिकाको प्रयोग गरेको देखिएको छ ।

प्रचारप्रसार र घरदैलोका लागि क्षेत्रको ग्रामीण भेगमा जाँदा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महतो र धनुषा-३ (क) को प्रदेशसभा सदस्य पदका उम्मेदवार जितेन्द्र कुमार यादवले बालबालिकाहरुको प्रयोग गरेको पाइएको छ ।

यसअघि निर्वाचन आयोगले गत शनिबार जुलीसँग स्पष्टीकरणसमेत सोधेको थियो । मंसिर ४ गते हुने निर्वाचनका लागि महतोले आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण पनि सोधेको थियो ।

त्यस्तै, नेकपा एमालेका केन्द्रीय सचिव तथा धनुषाको निर्वाचन क्षेत्र नम्बर-४ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रघुवीर महासेठले साडी वितरण गरेर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१९ जमुनियामा मतदातालाई साडी वितरण गरे वापत महासेठले नेकपा एमाले र आफ्नो पक्षमा मतदान गर्न आग्रहसमेत गरेका छन् ।

महासेठसँगै धनुषा क्षेत्र नम्बर-४ (क) को प्रदेशसभा सदस्य पदका उम्मेदवार संतोष यादव पनि सो कार्यक्रममा उपस्थित थिए ।
महासेठले सोमबार पार्टी प्रवेशको नाममा २० जनालाई एमालेमा भित्र्याउँदा केही महिलाहरुलाई भने साडी बाँडेका छन् ।
अहिले जिल्लाका सबै जसो प्रतिस्पर्धी उमेदवारहरुले मतदाताहरुलाई प्रलोभनमा पार्न विभिन्न सामाग्रीहरु बाँड्न सुरु गरेका छन् । ४/५ दिनअघि देखि नै नगदसहित अन्य जिन्सी सामग्री मतदाताहरुलाई बाँड्न कार्यकर्ताहरुको घरघरमा पुर्याइएको देखिइएको छ ।

निर्वाचन आचारसंहिता विपरित उनले साडी बाँड्दा पनि धनुषास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय भने मुकदर्शक बनेको पाइएको छ ।

यस सम्बन्धमा निर्वाचन आचारसंहिता अनुगमन अधिकारी डा. वीरेन्द्र मिश्रलाई सोध्दा उनले आफूले विस्तृत बुझेर मात्र केही भन्न मिल्ने प्रतिक्रिया दिए ।

एमालेबाट प्रदेशसभाका उम्मेदवार संतोष यादवले भने त्यसलाई अस्वीकार गरेका छन् ।

‘प्रचारमा हिँडेका कार्यकर्तालाई खाना खुवाउन त सकिएको छैन । आ-आफ्नो खर्चमा कार्यकर्ता हिडेका छन् । कहाँको साडी ल्याएर बाँड्नु ? हामीले कसैलाई केही बाँड्दैनौ । एकजना शहीदको आमालाई साडी दिएर हामीले सम्मान मात्र गरेका छौं,’ यादवले दाबी गरे ।