जनकपुरधाम : निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिको समन्वयमा निर्वाचन आयोगद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा विगतको भन्दा थप कडाइ गरिएको बताउनुभयो ।

“स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न आयोग दृढतापुर्वक अघि बढेको छ”, आयुक्त जबराले भन्नुभयो, “यसका लागि सबै पक्षले इमान्दारीपूर्वक निर्वाचन आचारसंहिताको परिपालना गर्नु जरुरी छ ।” निर्वाचन आचारसंहिता परिपालना गराउन केन्द्रदेखि जिल्ला तहसम्म बनेका निर्वाचन आचारसंहिता अनुगमन समितिले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नलाई स्पष्टीकरण मात्र होइन, अब आयोग कार्वाही गर्न थालेको छ,” आयुक्त जबराले भन्नुभयो, “आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण मात्र होइन, तत्काल अनुसन्धान गरेर कानूनी दायरामा समेत ल्याउने काम सुरु भइसकेको छ ।” आचारसंहिता उल्लङ्घन भएको उजुरी आए तत्काल आयोग आवश्यक कारवाही अघि बढाउन तयार रहेको उहाँले बताउनुभयो ।

निर्वाचनप्रति जनताको उत्साह बढाउन, मतदातालाई सचेत बनाउने कार्यमा सञ्चारकर्मी र सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले बाहिरी हल्लाको भरमा सूचना प्रवाह गर्दा ठूलो क्षति हुन सक्ने कुरालाई ख्याल गरी सूचना पुष्टि गरेर मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने वातारण बनाउन मिडियाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै निर्वाचन आचारसंहितालाई परिपालना गराउन सञ्चारमाध्यम र सञ्चारकर्मीले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

हतार हतार समाचार प्रसारण हँुदा कतिपय गलत सूचना पनि प्रसारण भइरहेको उल्लेख गर्दै उहाँले त्यस्ता सूचनाले निर्वाचनमा असहजता उत्पन्न हुन सक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो ।

उहाँले विदेशी नम्बर प्लेटको सवारी साधनमा प्रचार सामग्री हालेर उम्मेदवारले प्रचारप्रसार गरिरहेको सूचना आएकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहितालाई ख्याल गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताउनुभयो ।

निर्वाचनमा मिडिया र पत्रकारको भूमिकामा सहजीकरण गर्दै उहाँले मङ्सिर ४ गतेको निर्वाचनलाई केन्द्रविन्दुमा राखेर निष्पक्ष निर्वाचनको वातावरण बनाउने गरी कलम चलाउनुपर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा निर्वाचन र सञ्चारमाध्यम विषयमा सहजीकरण गर्दै निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी ७१ वटा उजुरी परेको र त्यसमध्ये ४० जनासँग स्पष्टीकरणसमेत सोधिएको जानकारी दिनुभयो ।

उहाँले एक जना वडाध्यक्षलाई निर्वाचन आचारसंहिता उल्लङ्घन कसुरमा रु पाँच हजार जरिवानासमेत आयोगले गरेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थी र नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामतले निर्वाचन आचारसंहिताको परिपालना गराउन सकिए निर्वाचनको निष्पक्षता अझै बढ्ने बताउनुभयो ।