बर्दिबास । महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पठनपाठन गर्ने छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

गरिब तथा मेधावी छात्रछात्रालाई प्राविधिक शिक्षाको डिप्लोमा (स्नातक) तहको अध्ययनका लागि पद्मशम्शेर स्मृति प्रतिष्ठान बर्दिबासले एक समारोहबीच पूणर् छात्रवृत्तिको रकम प्रदान गरेको छ ।

प्रतिष्ठानले बर्दिबास-१ महोत्तरीले नगर क्षेत्रका विभिन्न शिक्षालयमा अध्ययन गर्न छ जना गरिब तथा मेधावी छात्रछात्रालाई पूणर् छात्रवृत्ति प्रदान गरेपछि अब अर्थाभावले आफ्नो अध्ययन नरोकिने छात्रछात्राको भनाइ छ ।

“मेरो अब अघिल्लो शिक्षाका लागि पढ्ने क्षमता थिएन”, बर्दिबास-१० खयरमाराकी जसोधाकुमारी मण्डलले भने, “मेरो लागि छात्रवृत्ति अब वरदान भएको छ, म मेहेनतसाथ पढेर राम्रो होटल व्यवस्थापनविज्ञ बन्नेछु ।” अत्यन्त गरिब परिवारकी मण्डलले बर्दिबास-११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा होटल म्यानेजमेन्ट विषयको डिप्लोमा तह अध्ययन थालिएको छ । प्रतिष्ठानले गत असोजमै निणर्य गरेअनुसार सम्बन्धित शिक्षालयका प्रमुखको उपस्थितिमा चेकबाट रकम उपलब्ध गराइएको छ ।

यसैगरी खयरमाराकै अत्यन्त गरिब परिवारकी दिनिता देवकोटाले पनि सोही शिक्षालयमा रेडियोग्राफी विषयको स्नातक तहको पठनपाठन र अभ्यासका लागि प्रतिष्ठानबाट पूणर् छात्रवृत्ति पाएकी छन् । “रहर हुँदाहुँदै घरको गरिबीले पढ्न पाइएला जस्तो लागेको थिएन”, देवकोटाले छात्रवृत्तिमा छानिएपछि खुसी व्यक्त गर्दै भने, “अब प्रतिष्ठानले ढुक्क बनाएको छ, दत्तचित्तसाथ पढेर राम्रो नतिजा ल्याउनेछु ।”

प्रतिष्ठानबाट यसपटक बर्दिबास-३ की कविता चौलागाईँ र जेनिसा तामाङले क्रमशः पशु विज्ञान र बाली विज्ञानमा स्नातक तहको अध्ययन गर्न प्रतिष्ठानबाट पूणर् छात्रवृत्ति पाएकी छन् । चौलागाईँ र तामाङले उनीहरूले नै रोजेको प्राविधिक धारको पठनपाठन सञ्चालन गर्दै आएको जनता माध्यमिक विद्यालय बर्दिबास-३ गौरीडाँडामा अध्ययन थालेकी छन् ।

त्यसैगरी, बर्दिबास-६ का रविनकुमार साह र बर्दिबास-७ का मनिषकुमार महतोले क्रमशः सिभिल इञ्जीनियरिङ र कम्प्युटर विज्ञान विषयका लागि स्नातक तहको अध्ययन गर्न पूणर् छात्रवृत्ति पाएका छन् । दुबैले बर्दिबास-६ चौलिखास्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा अध्ययन थालेका छन् ।

“मैले पढ्ने रहरले नामाङ्कनका लागि छात्रवृत्तिका लागि आवेदन त भरेँ”, सिभिल इञ्जीनियरिङ विषयमा अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेका रविनकुमार साहले भावविह्वल हुँदै भने, “आपूmजस्ता गरिबले पढ्न पाउने कुरामा भने आश थिएन, तर मैले सिटिइभिटी (योग्यता जाँच परीक्षा उत्तीणर्) र प्रतिष्ठान दुबै ठाउँबाट अवसर पाएँ ।” मुख्य पक्ष पठनपाठनका लागि लाग्ने पूरै शुल्क प्रतिष्ठानले ब्यहोरिदिएपछि साह अब उच्च तहको प्राविधिक शिक्षा पढ्न पाउने कुराले दङ्ग परेका छन् ।

प्रतिष्ठानले शैक्षिक सत्र २०७७ देखि बर्दिबास नगरक्षेत्रका बासिन्दा रही यसै नगरक्षेत्रका प्राविधिक धारका विद्यालयमा पठनपाठन गर्न बर्र्सेनि १५ जना छात्रछात्रालाई छात्रवृत्ति दिने घोषणा गरे पनि मापदण्ड अनुसारका सङ्ख्या अपुग हुँदै आएको छ । प्रतिष्ठानबाट पहिलो वर्ष (२०७७) मा ११ जना र गत वर्ष (२०७८) मा नौ जनाले पूणर् छात्रवृत्ति पाएर अध्ययन जारी राखेका छन् । यसपालि छ जनाले छात्रवृत्ति पाउँदा संस्थाबाट लाभान्वित छात्रछात्राको सङ्ख्या २६ पुगेको छ । जसमध्ये कम्प्युटर विज्ञान विषयका दुई जनाले अध्ययन पूरा गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष विष्णु खड्का भन्छन, “आर्थिक कारणले नै शिक्षाको अवसर गुमाउन नपरोस् भन्ने सोचले प्रयत्न थालिएको हो”, बर्दिबासस्थित होटल विनायकका सञ्चालक खड्काले होटलको मुनाफाभित्रको निश्चित प्रतिशत रकम प्रतिष्ठानमा जाने नियमित व्यवस्था गरेपछि छात्रवृत्ति सञ्चालनमा आएको हो । विगतमा अर्थाभावकै कारण आफ्नो पढ्ने इच्छा पूरा नभएको सम्झनाले अहिले केही सामाजिक काम गर्न सक्ने आर्थिक हैसियत भएपछि शैक्षिक अवस्था सुधारका लागि पहल थालेको प्रतिष्ठानका अध्यक्ष खड्काको भनाइ छ ।

“मैले त्यतिखेर (३० वर्षअघि) एसएलसी पास गरेपछि गरिबीकै कारण अध्ययन बढाउन सकिनँ”, उनले भने, “अहिले मेहेनतले केही खर्च गर्न सक्ने भएको छु, त्यसैले स्व पितामाताको नाउँमा प्रतिष्ठान स्थापना गरेर छात्रवृत्ति कोषमार्फत शैक्षिक काम थालेको हुँ ।” गरिब परिवारका जेहेन्दार छात्रछात्राको पढाइमा सहयोग पुर्‍याउन पाउँदा आपूm सामाजिक काममा रहेको अनुभूतिसँगै सन्तोष र आनन्द लाग्ने गरेको खड्का बताउँछन ।

बर्दिबास नगर क्षेत्रमा शिक्षाको प्रसारमा प्रतिष्ठानको योगदानले दक्ष जनशक्ति विकासमा सहयोग पुगेको बर्दिबास नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाका प्रमुख गणेशप्रसाद दाहालको भनाइ छ ।