जनकपुरधाम ।  धनुषा निर्वाचन क्षेत्र ३ का उम्मेदवार जुली महतो भोज भतेर गरी मतदाता रिझाउन थालेकी छन् ।

यसक्रममा उनले सोमबार जनकपुरधाम उपमहानगरपालिका देवपुरामा मतदातालाई प्रभावित गर्ने भोजको आयोजना गरेको देखिएको छ ।

नेकपा एमाले–जसपाका साझा उम्मेदवार रहेकी महतो जटही–जनकपुरधाम ६ लेन सडक खण्ड अन्तर्गत सडकमै भोजको आयोजना गरेकी थिइन । भोजका लागि सडककै छेउमा पण्डाल पनि सजाइएको थियो ।

पण्डालमा महतो र प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र यादवको ब्यानर पनि लगाइएको थियो ।

महतो र यादव चढ्ने सवारीसहित कयौं सवारी त्यही पार्किङ गरिएको थियो ।

सवारी र पण्डालमा एमाले–जसपाको झण्डा र चुनाव चिह्न अंकित सामग्रीहरु पनि राखिएको थियो ।

स्थानीयहरुले खाना खाएपछि महतोले उनीहरुसंग आफूलाई मत दिन अनुरोध गरेकी थिइन् । सोही दिन उनी सो गाउँको मुस्लिम टोलमा घर दैलो कार्यक्रम पनि गरेकी थिइन् । स्थानीयको अनुसार मासुको भोज गरिएको थियो ।

निर्वाचन आयोगले केही दिन अघि महतोलाई स्पष्टीकरण सोधेको थियो भने निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कयौं सवारी साधन नियन्त्रणमा पनि लिएको थियो ।