जनकपुरधाम । पहिलो कार्यकालमै असफलता तर्फ उन्मुख भएका पूर्वी धनुषाको कमला नगरपालिकाका मेयर विशेश्व प्रसाद यादव नै नगरपालिका सँचालनको मुख्य बाधक भएको दाबी गरिएको छ ।

कमला नगरपालिकाकी उपमेयर शिलादेवी मण्डलले नगरपालिका वा नगरपालिकाले पारित गरेको नगरसभामाथि कुनै प्रकारको मुद्दा नदिएको बताउँदै बजेट सँचालन नगर्नु बहाना मात्र भएको प्रष्टयाएकी हुन् ।

नगरसभामा उपमेयरले गर्नुपर्ने आयव्यय प्रस्तुतिको अधिकार आफूबाट खोसेपछि सोही अधिकारको लागि मात्र अदालत गुहारेको बताउँदै उपमेयर मण्डलले नगरसभा, बजेट सँचालन वा नगरपालिका सँचालनको लागि बाधक हुने गरी कुनै मुद्दा नदिएको प्रष्ट पारेकी हुन् ।

नगरसभाको क्रममा सानोतिनो विवाद भएपनि आफ्नो प्यानलका वडाध्यक्षहरुलाई जनहितको लागि बजेट र योजना पेश गर्न निर्देशन दिएको बताउँदै आफ्नो प्यानलको वडाध्यहरुले योजना पेश गरिसकेको दाबी गरिन् ।

उनले भनिन् -“वडा नं. ५, ७ र ९ का वडाध्यक्ष मेरो प्यानलमा हुनुहुन्थ्यो, मैले सहमति गरेपछि उहाँहरुले योजना पेश गरिसक्नुभएको छ । यसअघि योजना नै पेश नगरेको भनेर मेयर साहबले बहाना बनाउनुभयो, तर अहिले त सबै योजना पेश गरिएको छ । मेयर साहबको प्यानलको वडाध्यक्षहरुले मात्र योजना दिनुभएको छैन, अब यो जिम्मेवारी कसको ?”

न्यूज ब्यूरोमा उपमेयरले नै मुद्दा दिएपछि फैसला नहुन्जेलसम्म योजना सँचालन नहुने भनेर मेयर यादवले प्रतिक्रिया दिएपछि उपमेयर मण्डलले सोको खण्डन गर्दै त्यस्तो केही नरहेको प्रष्ट पारेकी हुन् ।

मेयर पक्षको भनिएको वडा नम्बर ३ का वडाध्यक्ष रामभगत यादव, वडा नं. ८ का वडाध्यक्ष तृपित भुडेरले मात्र योजना पेश गरेका छैनन भनेर यसअघि वडा नं. ६ ले समेत भनिरहँदा वडा नं. ६ चुप्पी लादेर उपमेयरलाई मौन समर्थन जनाएको हो ।

कमला नगरपालिकाको दुई वडाध्यक्षको मात्र अडानले नगरपालिका बन्दी बनेको अवस्था देखिएको छ । मेयर पक्षको यी दुई वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले गत आर्थिक बर्षको हरहिसाब पारदर्शी नगरेको भन्दै हिसाब नदिएसम्म योजना पेश नगर्ने अडानमा रहेका छन् ।

उपमेयरमाथिको व्यक्तिगत रिसबीले मेयर विशेश्वर प्रसाद यादव नगरपालिका सँचालनको मुख्य बाधक बनेको टिकाटिप्पणी भएको छ । नेपाली काँग्रेस पार्टीबाट निर्वाचित मेयर यादवले नेपाली काँग्रेसबाटै निर्वाचित उपमेयरलाई पाखा लगाउने प्रयास गर्दा नगरपालिका बन्धक बनेको छ ।

नगरपालिका मेयर यादव घमण्ड र अहंकारले चुर भएको टिकाटिप्पणी चियोचर्चो चलेको छ । मेयर यादवको हर्कतले नेपाली काँग्रेस पार्टीलाई समेत सो नगरपालिकामा आगामी दिनमा धक्का लाग्ने अवस्था सृजना गरिएको हो ।न्यूज ब्यूराे