जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषामा दशगजा विवादले निर्माणाधिन पुल वर्षौदेखि अलपत्र परेको छ ।
धनुषाको मुख्यिापट्टी मुसहरनिया गाउँपालिकास्थित जमुनी नदीको तुल्सीयाही बेला थलहीघाटमा निर्माणाधिन दुई सय मिटर लामो पुल ८ वर्षदेखि अलपत्र छ ।
जनकपुरधामस्थित सडक डिभिजन कार्यालयको रेखदेखमा उक्त पुलको कार्य २०७१ मै निर्माण सुरु गरिएको थियो । निर्माण कार्य सुरु भएको ८ वर्ष वितिसक्दासमेत दशगज्जा विवादका कारण पूरा हुन नसकेको छ ।
सडक डिभिजन कार्यालय जनकपुरले वि. सं. २०७१ साउन १५ गते बज्रगुरु म्याँग्लुंग जेभी जनकपुर वडा नं. ४ संग ४ करोड ७२ लाख ६४ हजार ६ सय २६ रुपैयाँमा निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले दुई वर्षमा काम समाप्त हुने गरी सो ठेक्का लिएको थियो ।
निर्माण कम्पनीले पुलको फाउण्डेशन पिलर तयार गरी करिब ५० प्रतिशत भन्दा बढी काम गरिसकेको अवस्थामा भारतीय पक्षले सीमाको विवाद झिक्दै पुल निर्माण कार्यमा अवरोध श्रृजना गरेको थियो । सीमा विवाद समाधान हुन नसक्दा पुल निर्माण कार्य हालसम्म ठप्प रहेको स्थानीय बताउँछन् ।
भारत र नेपालको सीमा विवाद थियो, भने सुरुमै रोक्नुपथ्र्यो, तर त्यो नगरी भारतीय पक्षले काम सुरु भएको झण्डै डेढ वर्षपछि मात्रै पुल निर्माणमा अवरोध गर्यो । पछि तत्कालीन प्रमुख जिल्ला अघिकारीको पहलमा नेपाल र भारतका सर्वे टोलीले सो पुलको नाप नक्सासमेत गरेको थियो । तत्कालीन भारतिय राजदुत मनजिवसिंह पुरीले पनि त्यो पुलको अनुगमन गर्दै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए । तर हाल सम्म पुलको काम अगाडि बढ्न सकेको छैन ।
नेपाल-भारतको सीमा क्षेत्रमा पर्ने धनुषाको मुख्यिापट्टी मुसरनिया गाउँपालिका स्थित जमुनि नदीको तुल्सीयाही बेला थलहीघाटमा पुल दुबै देशको धार्मिक सांस्कृतिसँगसमेत जोडिएको छ ।
१५ दिने मिथिला मध्यमा परिक्रमा तथा किशोरी जीको डोला सोही बाटो भएर आउने जाने गरेको छ । धार्मिक सांस्कृतिसंग समेत जोडिएको बाटोमा पर्ने यो पुल निर्माण हुन नसक्दा सर्वसाधारणहरुलाई आवतजावत गर्नसमेत समस्या हुँदै आइरहेको स्थानीय रामअयोधी यादवले बताए ।
निर्माण कार्य सुरु गरेको वर्षौं भइसक्दा पनि ठेकेदार तथा सडक डिभिजन कार्यालयले चासो नदेखाउँदा समस्या झन बढेको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले बताए ।
उनका अनुसार निर्माण भइरहेको पुल नेपालको सीमा क्षेत्रमै रहेको छ । तर ठेकेदार र सडक डिभिजन कार्यालय जनकपुरको वेवास्ताका कारण पुल निर्माणमा करोडौं रकम भुक्तानी भइसक्दा पनि काम सम्पन्न हुन सकेको छैन् ।
सडक डिभिजन कार्यालय जनकपुर र बज्रगुरु म्याँग्लुंग जेभी संगको सम्झौता बमोजिम वि. सं. २०७३ भदौ १५ गते भित्र निर्माण पूरा गर्नुपर्ने थियो । तर निर्माण सम्पन्न नभएपछि कार्यालयले वि. सं. २०७७ माघ ३० गते भित्र काम पूरा गर्न म्याद थप गरेको थियो ।
कार्यालयले उक्त पुल निर्माणको ठेक्का पाएको बज्रगुरु म्याँग्लुंग जेभीलाई हालसम्म २ करोड १२ लाख ९ हजार ८२ रुपैयाँ भुक्तानी गरिसकेको छ । पुल निर्माणको ठेक्का पाएका कम्पनीलाई एक साता भित्र पुनः काम सुरु गराउने सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख संजय मिश्रले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो पुलको हालसम्म दुई वटा पिलरको निर्माण कार्य सम्पन्न भइसकेको तथा बीचको पाइल क्याप सम्पन्न भइसकेको छ । अन्य थप सबै काम बाँकी नै रहेको छ ।
Discussion about this post