जनकपुरधाम । मधेश प्रदेशका विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोक्नेमा सहमत भएको छ ।

गत पुस २९ गते मुख्यमन्त्रीसँगै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीकोबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट इन्जिनियर वसन्त कुश्वाहाले विना विभागीय मन्त्रीको शपथ लिएको थियो ।

बुधबार पत्रकारहरुसंग कुराकानीमा मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेर प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिको लागि पठाइसकेको जानकारी दिए ।

प्रदेश प्रमुख काठमाण्डुमा छन्, उनले भने, प्रदेश प्रमुख आएपछि उनीहरूलाई विभिन्न मन्त्रालयको जिम्मा दिन्छन् । तर, कसलाई कुन मन्त्रालयको जिम्मेवारी तोकिएको हो भन्नेबारेमा मुख्यमन्त्रीले खुलाउन चाहेनन् ।

यता, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारीमा सहमति भइसकेको जानकारी दिए ।

उनका अनुसार अर्थमन्त्रीमा जसपाका सञ्जयकुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्रीमा एमालेका सरोजकुमार यादव र सामाजिक विकासमन्त्रीमा जनमतका इन्जिनियर वसन्त कुशवाहकलाई नियुक्तिको लागि प्रदेश प्रमुखको कार्यालयमा पत्राचार भइसकेको छ ।

प्रदेश प्रमुख आएपछि मन्त्रालयसहितको मन्त्रीहरूको नियुक्ति हुने उनले बताए । प्रदेशमा थप मन्त्रिपरिषद् विस्तार र बाँडफाँटका विषयमा सत्ता साझेदारी दलहरूसँग छलफल गरेर यसै साता मन्त्रिपरिषद् विस्तार भइसक्ने उनले विश्वास दिलाए ।

जसपाले मुख्यमन्त्री र तीन, एमालेले चार, जनमतले दुई र माओवादी केन्द्रले दुई मन्त्रालयको दाबी गरेको छ ।

मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालय रहेका छन् ।