जनकपुरधाम : मधेश प्रदेशको सरकार मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएसँगै प्रदेश सांसदहरु मन्त्री बन्नको लागि शक्ति केन्द्रमा दौडधुपमा लागेका छन् ।

प्रदेश सरकारमा हाल सबै मन्त्रालय मुख्यमन्त्री सरोज कुमार यादवको मातहतमा रहेका छन् ।

मुख्यमन्त्री यादव र ३ जना मन्त्रीले सपथ लिएको एक हप्ता बढी भइसक्दा पनि मन्त्रीमण्डलले पूणर्ता पाएको छैन् । नियुक्त भइसकेका मन्त्रीहरुको विभाग समेत तोकिएको छैन् ।

उच्चस्तरीय स्रोतका अनुसार जसपाबाट मन्त्री बनेका सञ्जय यादवलाई अर्थ, नेकपा एमालेबाट मन्त्री बनेका सरोज यादव(महोत्तरी) लाई भौतिक पूर्वाधार विकास र जनमतबाट मन्त्री बनेका ई.वसन्त कुशवाहालाई कृषि मन्त्रालयको जिम्मेवारी दिइने छ ।

यता मन्त्रालयको टुंगो नलागे पनि एमालेका मन्त्री यादव र जनमतका मन्त्री कुशवाहाले आवास सुनिश्चित गरिसकेका छन् । यादवले पूर्व भौतिक पूर्वाधार मन्त्रीको आवास रोजेका छन् । तर ई.कुशवाहाले पूर्व सामाजिक विकास मन्त्रीको आवास रोजेका छन् ।

जसपाबाट मन्त्री बनेका यादवले हाल सम्म आवास सुनिश्चित गरेका छैनन् । तर उनले पूर्व अर्थमन्त्रीको आवासलाई रुचाएका छैनन् । उनको रोजाइमा पूर्व कृषि मन्त्रीको आवास पर्न सक्ने संभावना छ ।

निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत साहले आवास खाली गरिसकेका छैनन् । उनी फेरि मन्त्री हुने विश्वासका साथ आवास खाली नगरेको बताइएको छ ।

संघीय सरकारमा मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी(जसपा) र जनमत पार्टीको तालमेल नमिलेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भएको बताइएको छ ।

सरकारमा सहभागिताको विषयमा जसपा र जनमत पार्टीसित सहमति भइसकेको छैन् । जसपाले उपराष्ट्रपति पाउनु पर्ने अडानमा कायम राखेको छ । जनमत पार्टीले पूर्व सहमति अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति अथवा खानेपानी सहित थप एउटा मन्त्रालय दिनुपर्ने अडान लिएको छ ।

मधेश प्रदेश सरकारमा ढिलाइको कारण कार्य व्यस्तता रहेको जनमतबाट मन्त्री बनेका ई. वसन्त कुशवाहाले बताए ।‘मन्त्रालयको संख्या र विभागबारे गठबन्धन दलहरुबीच सहमति भइसकेको छ’ उनले भने, सहमति अनुसार मन्त्रीमण्डल चाँडै विस्तार हुनेछ । मन्त्रीपरिषद्को बैठक आज मंगलवार डाकिएको उनले बताए ।‘

उच्चस्रोतका अनुसार सहमति अनुसार नियुक्त भइसकेका मन्त्रीहरुको विभाग चाँडै निर्धारण गरिनेछ । संभवतः आज नै मन्त्रीहरुको विभाग तोकिने छ ।

हाल सम्मको सहमति अनुसार जसपाले ३, एमालेले ३, जनमतले २, लोसपाले १ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने छन् । एमालेलाई ४ मन्त्रालय दिने सहमति भए पनि लोसपा पनि सरकारमा सहभागी हुने भएकाले एउटा मन्त्रालय घटाइएको छ ।
मन्त्रीमण्डल विस्तारको तयारी भइरहेसँगै सभासदहरु सरकारमा जान शीर्ष नेताहरुलाई प्रभावित गर्ने प्रयत्नमा जुटेका छन् । जनमत बाहेक अन्य दलहरुले भने मन्त्रीको नाम अझै टुंग्याइसकेको छैन् ।

जसपामा हालै प्रवेश गरेकी सुरिता साह मन्त्री बन्ने संभावना बढेको छ । पर्सा जिल्लाबाट जसपामा प्रवेश गरेका प्रमोद कुमार जयसवाललाई राज्यमन्त्री दिने बताइएको छ ।

जनमतबाट सञ्जय यादव मन्त्रीमण्डलमा पर्न सक्छन् । लोसपाबाट रानी शर्माको संभावना बलियो छ ।

नेकपा एमाले र माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नाम टुंगो लाग्न बाँकी छ । मुख्यमन्त्री यादवले सरकारलाई चाँडै पूणर्ता दिएर कामकाजलाई प्रभावकारी बनाउन लागि परेको बताइन्छ ।

दलहरुबाट मन्त्रीको नाम प्राप्त हुनासाथ मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले जनाए । संघीय संसदमा दलहरु बीच मन्त्री र शासकीय पदहरुबारेमा तालमेल हुन सकेको छैन् ।

नेताहरु अहिले संघीय सरकार र गठबन्धनमा तालमेल मिलाउन सक्रिय रहेकाले सबै प्रदेशहरुमा सरकारले पूणर्ता पाउन सकेको छैन् ।