जनकपुरधाम । सरस्वती पूजा (श्रीपञ्चमी)को दिन धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा थानामा २२ वटा मोटरसाइकलसहित
चालक नियन्त्रणमा लिएको छ ।

ट्राफिक नियमको उल्लंघन गर्दा महेन्द्रनगर ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्तको चेकिंगमा आजमात्र २० हजार राजश्व संकलन गरी उनीहरुलाई नियन्त्रणमा लिइएको र परामर्श दिइ मोटरसाइकलका अभिभावकसहित निजका परिवारलाई जिम्मा लगाइएको छ ।

तीव्र गति, हेलमेट नलगाउने, सवारी कागजपत्र नहुने र दुईजना भन्दा बढी सवार भएको मोटरसाइकललाई नियन्त्रणमा लिएर परामर्श दिइ छोडिएको क्षीरेश्वरनाथका टा्रफिक सहायक प्रहरी निरीक्षक शैलेन्द्र ठाकुरले जानकारी दिए ।

नियन्त्रणमा लिएका अधिकांश किशोर उमेर समूहका चालक तथा सवार रहेका थिए । उनीहरुसँग ट्राफिक नियम उल्लंघन गरे अनुसारको जरिवाना लिइएको छ ।

उनीहरुको अभिभावकको जिम्मा लगाएर छाडिएको छ । छाड्नुभन्दा अघि उनीहरुलाई एक घण्टा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो । यो अभियान एक सातासम्म चलाउने महेन्द्रनगरका ईलाका प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु अबदेखि ट्राफिक नियम उल्लंघन नगर्ने शर्त पनि गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएको सवारी बारे जानकारी दिए पनि दुर्घटना भएको बारे कुनै विवरण दिएका छैनन् ।

यद्यपि धनुषामा करिब एक दर्जन बढी ठाउँमा मोटरसाइकल दुर्घटनाा भएको बताइएको छ । दुर्घटनामा परी मानिसहरु घाइते पनि भएका छन् ।