पर्सा। मधेश प्रदेशका पर्सा र बारामा आइजीपी धिरजप्रताप सिंहले बरिष्ठ सईको नेतृत्वमा केन्द्रबाटै हस्तक्षेप गरी घुमुवा राखेका छन् । बारामा बरिष्ठ सई सागर राणा र पर्सामा विनोद सिंहलाई परिचालन गरिएको छ ।

आईजीपी सिंहले वडा प्रहरी कार्यालय बिर्तामा आफू निकट र सेटिङमा माहिर इन्सपेक्टर बिदुर प्रसाद सिवाकोटीलाई काज सरुवा गरेका छन्। सिवाकोटी सई हुँदा पर्सामा पनि बसेर काम गरेका थिए।

स्रोतका अनुसार प्रहरी मुख्यालयबाटै आइजीपीको संरक्षण पाएकाले मधेश प्रदेशका प्रहरी प्रमुखदेखि बारा तथा पर्साका एसपीले समेत सईको गतिबिधिमाथि निगरानी गर्न सक्दैनन् ।

पर्सामा राखिएका घुमुवा बरिष्ठ सई विनोद सिंहको बारेमा धेरै गुनासो आएपछि यसअघिका पर्साका एसपी रमेश बस्नेतले एक्सन लिन खोज्दा माथिकै आशीर्वाद भएकाले उनी हच्किएका थिए ।पर्साको एसपी हुँदै मधेश प्रदेशमा डीआइजी भएका आइजीपी सिंहलाई तस्करीदेखि सबै बिषयको जानकारी भएकाले पनि उनले मुख्यालयबाट सोझै नखटाई सोही स्थानमा काम गरेका प्रहरीलाई नै खटाएका छन् ।

बारामा आर्थिक लेनदेन, चेक बाउन्स, तस्करी सेटिङमा आइजीपीकै घुमुवा सई सागर राणा को बोलवाला रहने गरेको स्वयम प्रहरीहरु नै बताउँछन् ।

सई सागर राणाले नाकाबन्दीको पालामा राजबाबु श्रेष्ठ हुँदा राति राति तस्करी गराएर अकूत लाभ लिएको आरोप पनि घुमुवा प्रहरीहरुमाथि लाग्ने गरेको छ ।

त्यसो त घुमुवा प्रहरीले नै बालकृष्ण पोखरेलको साझा ट्रान्सपोर्ट कम्पनीलाई तस्करीमा सघाउने गरेको आरोप लाग्दै आएको छ ।