जलेश्वर । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको शुक्रबार जलेश्वर स्थित शाखा भवनमा बसेको कार्यसमितिको बैठकले शाखाका कार्यबाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता) र सचिव राजकरण महतोलाई कडा कारबाहीको माँग गरेको छ ।

बैठकले एक विज्ञप्ती जारी गर्दै का.बा.अध्यक्ष बराल र सचिव महतोले लोकतान्त्रिक मुल्य मान्यतालाई लत्याउँदै निर्वाचित कोषाध्यक्ष, सह सचिव र सदस्यहरुसँग राय, परामर्श, आवश्यक छलफल र स्वीकृति बिना नै शाखाको आफ्नो भवन हुँदाहुँदै बाहिर गोप्य स्थानमा लुकेर संस्थालाई नै ध्वस्त बनाउने विभिन्न निणर्यहरु गरेको प्रति कार्यसमितिको गंभिर ध्यानाकर्षण भएको दर्शाउँदै दुवै जनामाथि कडा कारबाहीको लागि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमिति र प्रदेश कार्यसमितिलाई आग्रह गरेको विज्ञप्तीमा उल्लेख छ ।

सचिव महतो आफू काठमाडौंमै बस्ने गरेको, जिल्ला स्थित कार्यसमितिको कुनै पनि बैठकमा सहभागी नहुने गरेको र अहिले पत्रकार पत्रकारबीच द्वन्द्व गराउने उद्देश्यले आफ्ना आसेपासे, जातिगत, पार्टीगत र समूहगत व्यक्तिहरुलाई परिचालित गरी/गराई संस्थाको मान, मर्यादा र साख नै डुबाउने किसिमको निणर्यहरु गराएको र त्यस्तै कार्यबाहक अध्यक्ष बरालले संस्थाको आर्थिक अनियमितता गरेको तथा अहिले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको साधारण सभा समेत गराउन नसकेर अनाधिकृत तवरले नयाँ सदस्यता र सदस्यता नवीकरण आवेदन खुलाएकोमा दुवै जनामाथि कडा कारबाहीको माँग गरिएको शाखाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संस्थाको हकहितका लागि बोल्ने र राम्रो नराम्रो सुझाउने कोषाध्यक्ष, सह सचिव र सदस्यहरुलाई बेवास्ता गर्दै शाखाको हित, अहित सम्बन्धी केहि जान्न बुझ्न नसक्ने व्यक्तिहरुलाई ओझेलमा पार्दै शाखाको आफ्नो भवन हुँदाहुँदै पनि गोप्य स्थानमा लुकेर अनाधिकृत रुपमा संस्थाको लेटरप्याड र छाप प्रयोग गरेर विभिन्न विवादास्पद निणर्हरु गरेर निर्वाचित कोषाध्यक्ष, सह सचिव र सदस्यहरुको मान मर्दन गर्नुको साथै संस्थालाई नै बर्बाद पार्ने काम गरेका का.बा.अध्यक्ष बराल र सचिव महतोलाई हदैसम्मको कारबाही लागि नेपाल पत्रकार महासंघ केन्द्रिय समिति काठमाडौं र नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति जनकपुरसँग जोडदार माँग गरिएको सह सचिव सञ्जीतकुमार मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

यसका साथै संस्थाको साधारण सभा समेत नभइसकेको अवस्थामा का.बा.अध्यक्ष बराल र सचिव महतोले मनपरी ढंगले नयाँ सदस्यता र सदस्यता नवीकरणको लागि माँग गरिएको आवेदन अझै पनि अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मको लागि स्थगित नै रहेको जनाउँदै संस्थाको अहितमा कुनै पनि निणर्य गरे गराएमा सहनिय नहुने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ ।