जनकपुरधाम । लक्ष्मीनियाँ गाउँपालिका-२ सोहनी स्थित सोमेश्वरनाथ महादेव मन्दिर परिसरमा महावीर झण्डा मेला सुरु भएको छ ।

शनिबार महाशिवरात्रिको अवसर पारेर महावीर झण्डा मेलाको एक समारोहबीच उद्घाटन गरिएको मुख्य पुजारी भोला यादवले जानकारी दिएका छन् ।

झण्डा मेलाको लागि महावीरको भव्य झण्डाको साथ साथै दर्शनका लागि विभिन्न देवी देउताहरुको मूर्ति निर्माण गरिएको छ ।

त्यसैगरी, शिवरात्रिको अवसरमा शनिबार राति जागरण कार्यक्रमको आयोजना गरिने भएको छ भने स्थानीय पोखरिमा गंगाआरती भएको छ ।

मेलाको लागि शिव मन्दिरलाई बेहुली झैं सिंगारिएको छ भने मन्दिरको छेउमै अवस्थित पोखरिलाई सजाउँदै ढुंगाले निर्माण गरिएका विभिन्न देवी देउताका मूर्तिहरुलाई रंगरोगन गरिएको छ ।

त्यस्तै,आजदेखि सात दिनसम्म पहलवानी (कुस्ती),मिथिलाको लोक नृत्य झरी-झरी तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै झण्डा मेलाको उत्सव मनाइने बुझिएको छ ।

मेलाको अन्तिम दिन फागुन ११ गते एक समारोहको आयोजना गरी मेलाको समापन कार्यक्रमको आयोजना गरिनेछ ।

करिब सात लाख रकम खर्च हुने अनुमान गरिएको मेला व्यवस्थापनका लागि स्थानीयवासीहरुसंग चन्दा संकलन गरिएको छ भने कुनै पनि निकायबाट सहयोग नपाएको आयोजकले जनाएको छ ।