जनकपुरधाम । प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)ले हिंसात्मक कारवाही नरोकिने अभिव्यक्ति दिएका छन् ।
शुक्रबार जानकपुर साहित्य महोत्सवको दोस्रो दिन ‘राजनीति अभियान आ अवसर’ विषयक छलफलमा उनले सो प्रतिक्रिया दिएका छन् ।

इन्जिनियर रुपेश यादवले विगतमा जनमतको कार्यकर्ताले खानेपानीको इन्जिनियर राजेश्वर कुशवाहालाई गरेको कारबाही ठिक नभएको प्रसंग उल्लेख गर्दा त्यसको जवाफमा डा. राउतले राज्य संरचनाहरु असफल भएपछि त्यसप्रकारको जनताको आक्रोश हुने गरेकोतर्क राखे ।

‘जनताको आक्रोश व्यवस्थापन हुन नसकेपछि त्यसप्रकारको गतिविधि हुने गर्छन,’उनले भने, ‘अरु विकल्प नपाएपछि, सुन्दै नसुनेपछि त्यस्तो हुन्छ ।’ जन कारबाही सही वा गलत नहुने गरेको र त्यसप्रकारको कारबाही भइरहने डा.राउतले बताए।

सञ्चारकर्मी रिंकु मिश्रले पनि सोही विषयमा केन्द्रित भएर ‘जन कारबाही नै गर्ने हो भने कानूनी व्यवस्था किन चाहियो ?’ भन्दै प्रश्न गरेकी थिइन् । उनको प्रश्नको उत्तर दिँदै अध्यक्ष राउतले राज्यमाथि दोष दिँदै रेडिमेड जवाफ दिएका थिए ।

सरकारी कार्यालयबाट समस्या समाधान नहुँदा त्यसप्रकारको गतिविधि सिर्जना हुने गरेको उनको कथन थियो । कर्मचारीले कहिले पनि आफ्नो गल्ती नदेखेको हुनाले जनता उनीहरुको गल्ती यसरी नै देखाइ दिनुपर्ने उनले बताए ।

‘भ्रष्टाचार अन्त्यको लागि ठूला-ठूला आन्दोलन हुन सक्छ । मान्छेको ज्यानै जाने आन्दोलन हुन सक्छ त जन कारबाही सामान्य कुरा हो,’उनले भने, ‘त्यो कुनै ठूलो कुरा होइन् । समाजमा भ्रष्टाचार व्याप्त रहेसम्म जन कारबाही भइरहन्छ । मैले रोके पनि त्यो रोकिने बला छैन् ।’

मधेश विश्वविद्यालयमा स्टन्टबाजी बढी भएको राउतले बताए । बोर्ड मात्रै लगाएर विश्वविद्यालय नहुने उनले तर्क गरे । जनकपुरधामका युवा सरोज मिश्रले जानकी मन्दिरमा स्वच्छता अभियान अन्तर्गत गरिएको जानकी मन्दिर सौन्दर्यकरणमाथि प्रश्न गर्दा े जवाफमा डा. राउतले यसको विषयमा पहिले पनि अवाज उठाएको र छानबीन नभएसम्म अवाज उठाइरहने अश्वासन दिए ।

डा. राउतले सरकारी कार्यालयमा सर्वसधारणले भोगिरहेको समस्या बारे उल्लेख गरेका थिए । सोझा नागरिकहरु कर्मचारीबाट अनाहकमा दुःख पाउने गरेको उनले बताएका थिए ।

‘हप्तौंसम्म सबै कागजात हुँदा हुँदै नागरिकता नपाउँदा कहाँ जानु ?,’उनले भने,‘त्यसकारण कर्मचारीलाई सुधार गर्नुपर्ने ठोस कानून पनि ल्याउनुपर्छ । कर्मचारीलाई कामप्रति सचेत र जिम्मेवार पनि बनाउनुपर्छ ।’