जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले ताल्चा लगाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र  यादवको कार्यकक्षमा वडा नम्बर १ का वडाध्यक्ष दिलीप यादव, वडा नम्बर-५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर-६ का वडाध्यक्ष महावीर साह र वडा नम्बर-७ का वडाध्यक्ष गंगा साहले तालाबन्दी गरेका छन् ।

वडा नम्बर १ का वडाध्यक्ष दिलीप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकीय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खाली हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको बताएका छन् ।

उनले भने लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निणर्य गरेको भए पनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत यादव मिलेर करारका कर्मचारी नहटाइ खुला प्रतिस्पर्धा नै नगरी आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाएका छन् ।

वडाध्यक्ष यादवले रोजगार सहायक, एमआइएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिए पनि नतिजा प्रकाशन गर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाएका छन् ।