जनकपुरधाम । धनुषा जिल्लाको शहरी क्षेत्रमा रातिको समयमा ठूलो स्वरमा ध्वनि प्रदूषण हुने गरि बाजा बजाउनमा निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सर्वपक्षीय बैठकले राती १०ः०० बजेपछि डि.जे, लाउडिस्पीकर तथा ठूलो आवाजमा बज्ने अन्य प्रकारको बाजाहरू बजाउनमा निषेध गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा भएको बैठकले राति बाहेकको समयमा पनि ठूलो स्वर र अश्लील गीत बजाउने जस्ता गतिविधि नगर्नका लागि सर्वसाधारणमा सूचनामार्फत जानकारी गराएको छ ।

अरूलाई प्रभावित हुने गरि कुनै प्रकारको ध्वनि बाहिर ल्याउन नहुने बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले ध्वनि प्रदूषण हुने गरी कसैले कुनै क्रियाकलाप गरेको पाइएको खण्डमा प्रचलित कानून बमोजिम तत्कालै कारबाही गर्ने जनाएको छ । विगतमा पनि प्रहरीले धेरै डिजेहरू नियन्त्रणमा लिए पनि यसलाई निरन्तरता दिन नसकेको गुनासो सर्वसाधारणको छ ।

बैठकले स्थानीय तहहरूलाई पनि आफ्नो कार्यक्षेत्रमा डिजे तथा स्पिकर बजाउनमा रोक लगाउनका लागि अनुरोध गरेको छ ।

खास गरेर तराई मधेसका जिल्लाहरूमा चाड, पर्व तथा उत्सवमा डिजे, हर्न लगाएर ठूलो स्वरमा बाजा बजाउने प्रवृत्ति बढेको छ ।