जनकपुरधाम । सखी बहिनपा मैथिलानी समूहद्वारा जनकपुरधाममा होरी उत्सव मनाइएको छ ।

हिन्दूधर्मावलम्बीहरुको महत्वपूणर् पर्व होलीको पूर्व सन्ध्यामा शनिबार सखी बहिनपा समूहले होरी उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद जुली कुमारी महतोले सखी बहिनपा समूहले गरेको होरी उत्सवले समाजमा सकारात्मक संदेश जाने कुरा बताएकी छन् ।

खुशीयाली र उमंगको पर्व होलीको अवसरमा सखी बहिनपा समूहले आयोजना गरेको होरी उत्सव सराहनीय रहेको र संस्कार संस्कृति र पहिचानको रक्षार्थ सञ्चालन गरिएका कार्यक्रमहरुले लोप हुन लागेको सभ्यता संस्कृतिलाई जीवन्त बनाउन कार्यमा सहायक सिद्ध भएको बताइन् ।

आयातीत संस्कृति भन्दा आफ्नै संस्कृति हामीलाई प्यारो रहेको र यसको पुनरजारणको आवश्यकतामा उनले जोड दिइन् ।

कार्यक्रममा मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले होली पर्वबारे केही दिन यतादेखि नकारात्मक प्रचार भइरहेको बेला सखी बहिनपा समूहले दिदी बहिनीहरुलाई संगै राखेर आयोजना गरेको होरी उत्सवले होलीको महत्वलाई बढाउनुको साथै संस्कृति संरक्षणमा टेवा पुग्ने बताए ।

उनले भने,‘केही वर्षयतादेखि नशा सेवन गरी होली मनाइने भएकोले दिदी बहिनीहरु घरबाट भयका कारण बाहिर समेत निस्किंदैन्थे तर सखी बहिनपाले अनुशासित रुपमा पनि होरी खेल्न सकिन्छ भन्ने पुष्टि गरेको छ ।’ मिथिला संस्कृतिमा होरीको आफ्नो छुट्टै महत्व रहेको उल्लेख गर्दै सांसद ठाकुरले सखी बहिनपाको यस आयोजनले संस्कृतिको जर्गेना गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा सहभागीहरुलाई गमछा र पाग लगाएर सम्मान गरिएको थियो ।

समूहकी सबै बहिनपा मिलेर नै गर्ने भएको सो कार्यक्रममा अरुणा मिश्र, सुनिता मिश्र, पुनम झा मैथिल,आरती चौधरी,नेतृ विभा ठाकुर, पुनम मिश्रले समूहको गतिविधिका बारेका प्रकाश पारेका थिए ।

कार्यक्रममा गोसाउनी गीत समूह गीत र होरी नृत्य प्रस्तुत गरिएको थियो भने स-साना बालिकाहरुले मोहक नृत्य प्रस्तुत गरेका थिए ।