जनकपुरधाम । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरु अहिले चुनावमय बनेको छ । जनकपुरधामको रामसागर रामस्वरुप बहुमुखी (राराब) क्याम्पसमा पनि चुनावी सरगर्मी बढेको छ ।

१४ वर्षपछि हुन लागेको निर्वाचनले विद्यार्थी र उम्मेदवारहरुमा एक प्रकारको उत्साह नै रहेको छ । उनीहरु मत माग्न निकै व्यस्त भएका छन् । मत आफ्नो पक्षमा तान्न अनेक कसरत गरिरहेका छन् । विद्यार्थीले आफ्नो पक्षमा मत दिन पार्टीको शीर्ष नेतालाई गुहारनेदेखि क्याम्पस सुधारको गृहकार्य पनि उनीहरुले जारी राखेका छन् ।

यसपालि राराबमा ६ जना सभापतिका उम्मेदवार छन् । २१ सदस्यीय कार्यसमितिको लागि कुल ८८ जनाले उम्मेदवारी दिएका छन् । प्रशान्त झाको नेतृत्वमा लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संगठन, मनिष यादवको नेतृत्वमा नेपाली कांग्रेस निकट नेविसंघ र इजाज मोमिमको नेतृत्वमा जनमत पार्टी निकट जनमत विद्यार्थी संघले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिषेक साहको प्यानल पनि चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् ।

पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा समाजवादी विद्यार्थी युनियनका गौतम यादव पनि चुनावी मैदानामा छन् । नेकपा एमाले निकट अनेरास्वयु, माओवादी केन्द्रका अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी पार्टी र राप्रपा निकटका विद्यार्थी संगठनहरुको साझा उम्मेदवारको रुपमा गौतम रहेका छन् । सबैजसो उम्मेदवारले सार्वजनिक गरेको घोषणापत्र मिल्दोजुल्दो देखिएको छ ।

जनकपुर टुडेकर्मी कमलेश ठाकुरले सभापति पदको चार उम्मेदवारलाई ‘तपाईलाई विद्यार्थीले किन मतदान गर्ने ? जितेपछि तपाईको योजना के छ ? भनेर प्रश्न सोधेका थियो । प्रस्तुत छ, उम्मेदवारहरुसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रशान्त कुमार झा, लोविस

राराबको पुरानो अस्तित्व फर्काउन लोसपा निकट विद्यार्थी संगठनलाई मतदान गर्नुपर्छ । म, विद्यार्थीको मतबाट स्ववियुको सभापति चुनिएपछि रोजगारमूलक आधुनिक शिक्षाको लागि पहल गर्छु ।

प्रयोगविहीन रहेको पुस्ताकालयलाई आधुनिक बनाउनु मेरो पहिलो प्राथमिकतामा छ । क्याम्पस भित्र ठाउँ ठाउँमा शुद्ध खानेपानी, रात्रिसहित तीन सत्रमा पढाइ र सुविधा सम्पन्न खेल मैदान जस्ता योजना पनि मेरो एजेण्डामा रहेको छ । विद्यार्थीसँग नियमित छलफल गरी समस्याको समाधान गर्छु । मासिक बैठक बसेर अन्तरक्रिया गर्छु । निःशुल्क छात्रावास र दुई हजार विद्यार्थी अटाउने आधुनिक सभागृहको आवश्यकता छ । जुन म जितेपछि पूरा गर्छु ।

मनिष कुमार यादव, नेविसंघ

म टिका लगाएर विद्यार्थीको अगाडि उभिएको छैन् । काम गरेर आएको छु । विगतमा पनि काम गरेको छु, विद्यार्थीले कामको मूल्यांकन गरी मलाई मतदान गर्नेछन् । रह्यो एजेण्डाको कुरा समग्रमा गुणस्तरीय शिक्षालाई जोड दिनुपर्छ भन्ने मेरो धारणा हो । एमएसी, कानून र कृषि पढ्नको लागि अहिले विद्यार्थीलाई बाहिर जानु परेको छ । म जितेर आएपछि राराबमै यी सबै विषय पठनपाठन हुने बनाउन पहल गर्नेछु । व्यवस्थित पार्किङ र छात्रावासको लागि पनि काम गर्नेछु । इपुस्तकालय र पठनपाठन हुने समय सम्म हेल्थ डेस्क राख्नुपर्ने मेरो योजना छ ।
गौतम यादव, सवियु

नियमित रुपमा कक्षा सञ्चालन गराउनका लागि गठबन्धनको सबै उम्मेदवारलाई जिताउनु आवश्यक छ । विद्यार्थीको हकहित र शान्त वातावरणमा पठ्नपाठनको लागि हाम्रो टिमले काम गर्छ ।

म विषयगत अध्ययन सामग्रीहरुको व्यवस्थापनको लागि इपुस्तकालयको उचित व्यवस्था गराउन भूमिका निर्वाह गर्छु । खेल मैदानको व्यवस्था गरी नियमित खेलकुद प्रतियोगिता गराउने योजना ल्याउँछु । राराबमा लामो समयदेखि रोकिएको अधुरो निर्माण कार्य र भौतिक संरचना मर्मत सम्भार गराउनु पनि प्राथमिकतामा रहनेछन् । निर्वाचनबाट चुनिएपछि सबैसँग सहकार्य र सल्लाह सुझाब लिएर काम गर्ने छु ।

इजाज मोमिम, जविस

२०७४ सालदेखि विद्यार्थीको हकहितको लागि राराबमा काम गर्दै आएको छु । विद्यालयमा अनुशासन, शुशासन कायम गरी शिक्षा सुधारको कार्यक्रम ल्याउछु । सरसफाइ, खेलकुद, पुस्तकालय यी सामान्य मुद्दामा काम त गर्नु नै छ ।

तर समय अनुसार आधुनिक तारिकाले पठनपाठनको लागि पनि काम गर्नेछु । विद्यार्थी, कर्मचारी र प्राध्यापकको लागि पुलको काम गर्नेछु । सबै पक्षसँग समन्वय गरी ठोस योजनाहरु कार्यान्वयन गराउने छु । होस्टेलको राम्रो व्यवस्था गराउनु पनि अहिलेको आवश्यकता छ । जुन मेरो नेतृत्वको टिमले पूरा गर्ने संकल्प लिएका छन् ।