जनकपुरधाम । जनकपुरधामका एम्बुलेन्स चालकहरुले विरामीसंग तोकिएको भन्दा बढी मूल्य लिने गरेको भन्दै संयुक्त एम्बुलेन्स चालक संघले आठ जना एम्बुलेन्स चालकहरुलाई कारबाही गरेको छ ।

संयुक्त एम्बुलेन्स चालक संघ,ट्रेड युनियन संघ नेपाल जिल्ला कार्यसमिति धनुषा तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निणर्य विपरीत काम गरेको,एम्बुलेन्स खरिद बिक्री तथा ठेक्का पट्टामा संलग्न रहेकोलगायतको संस्थाको मर्यादा विपरीत काम गरेको भन्दै संघले आठै जनालाई संस्थाको साधारण सदस्यता खारेज गरेको छ ।

संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आजैको मितिबाट लागु हुनेगरी चालकहरु रामपति यादव,राजेश यादव,दीपेन्द्र प्रसाद शर्मा,अरुण कापर,बिर्जु महतो,अनिल कणर्,महेश दास तथा विमलेश चौधरीलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जनाएको छ ।

संघका अध्यक्ष अरमान कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा कारबाहीमा परेका चालकहरुले संस्थाको सदस्यता नविकरण नगरेको,गुटउपगुट खडा गरी एम्बुलेन्स जस्तो सेवामुखी पेशाको मर्यादामा आँच पुर्‍याएको समेत ठहर गरिएको छ ।