बारा : जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउत देश बाहिरको शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएका छन्।

बारा क्षेत्र नं २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार यादवले सीके राउत बाह्य शक्ति केन्द्रबाट परिचालित पात्र भएको आरोप लगाए। सोमबार बाराको महागढीमाई नगरपालिका-६ मा चुनावी घरदैलो कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले भने, ‘सीके राउत को हो? कहाँबाट परिचालित छन्? केका लागि परिचालित छन्? भन्ने कुरा रहस्यमयी छ। यसबारे धेरै कुरा खोज्नुपर्छ।’
देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाति र देशद्रोही बनेर राउतले राजनीति यात्रा सुरु गरेको भन्दै यादवले अहिले पनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाति र देशद्रोही नै भएको टिप्पणी गरे।

मधेसलाई नेपालबाट टुक्र्याउने नारा छाडेर मूलधारको राजनीतिमा सीके राउत आइसकेका छन् नि त भन्ने प्रश्नमा यादवले भने, ‘सीके राउत अहिले पनि राष्ट्रघाति र देशद्रोही नै हुन्। किनकि उनको व्यवहार र गतिविधि अहिले पनि हिजोको जस्तै छ।’

बारा २ को उपनिर्वाचन जित्न जसपाले जातिवादको नारा उचालिरहेको भन्ने विपक्षी दलको आरोपको उनले खण्डन गरे। उनले भने, ‘सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र चरित्रहीन तथा अपराधिक मनोवृति भएकाहरूले मधेसमा जातिवादको विष घोलेर समाजलाई कमजोर बनाएर फेरि मधेसीलाई गुलाम बनाउने षड्यन्त्र गरिरहेका छन्।’

उनले बाहिरिया उम्मेदवार भन्ने आरोपको पनि बचाउ गरे। ‘आफ्नै देशको नागरिक आफ्नै देशमा बाहिरिया हुन्छ? कि अमेरिकन नागरिकले लिएर आएका उम्मेदवार बाहिरिया हुन्छ? यसको जवाफ बैशाख १० मा बारा २ का जनताले दिनेछन्।’ उनले सीके राउतलाई अमेरिकी नागरिक रहेको संज्ञा दिएका थिए।

उनले आफ्नो विजयी सुनिश्चित रहेको बताउँदै मतान्तर बढाउनलाई घरदैलो कार्यक्रम गरिरहेको बताए। घरदैलो कार्यक्रममा यादवसँगै नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी, कांग्रेस केन्द्रीय सदस्य अजय चौरसिया, कांग्रेसका जिल्ला सभापति राजेशराय यादव, महागढी नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवलगायतका नेताको सहभागीता थियो।