काठमाडौं : नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । हत्या आरोप लागेका सांसद कोइरीलाई मंगलबार निलम्बन गरिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित कोइरीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ ।
उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि फरार रहेका उनको खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालय नक्सालले संसद सचिवालयलाई दुई पटक पत्र लेखेको थियो ।
कोइरी निलम्बन भएको सूचनाको पत्र टाँस गरी निलम्बनको जानकारी दिइएको छ ।
Discussion about this post