सबिता यादव

नेपालमा बलात्कारको घटना प्रत्येक दिन हामी सुनिरहेका हुन्छौ । किन दिन प्रतिदिन झनै यस्ता घटनाहरुमा बढोत्तरी भैरहेको छ त ?

धेरै भयो बलत्कार बलत्कार बलात्कार ………
लाग्छ अब कुनै परिवारले छोरी जन्माउनलाई पनि डराउनु पर्ने दिन आयो कि ? यहाँ छौं महिनाको अबोध वालिका देखि लिएर अठारह बर्ष मुनीका नबालिग हुँदै पचास बर्षकी महिलाहरु समेत बलात्कृत हुँदै छन् । आखिर कहिले सम्म यस्ता बलात्कारीहरु समाजमा खुलेआम घुम्ने छन् त ?

संविधानको प्रस्तावनामा नै लैङ्गिक विभेदको अन्त्य र सामाजिक न्यायको संकल्प गर्दै सवैलाई सम्मानपुर्वक वाच्ने अधिकारको व्यवस्था गरिएकोछ । मौलिक हक अन्तरगत समानताको हकमा भेदभाव हुन नहुने, पिडितप्रति राज्यलाई जम्मेवार बनाउन पहिलो पटक संविधानमा पिडितको हकको व्यवस्था गर्दैै महिलाको हक अन्तरगत “महिला विरुद्ध कुनै पनि किसिमको हिंसाजन्य कार्य वा शोषण गरिए त्यस्तो कार्य दण्डनिय हुनुकासाथै पिडितले क्षतिपूर्ति पाउने हकको समेत व्यवस्था गरिएको छ । यस दृष्टिकोणवाट हेर्दा हाम्रो संविधान दुनियाकै उत्कृष्ट संविधानमध्ये पर्दछ ।

त्यसैगरी दलहरुको दस्तावेज र निर्वाचन घोषणापत्रमा पनि यी कुराहरु उल्लेख छन भने संसदभित्र र वाहिर सवै राजनीतिक दलको प्रतिनिधि वा व्यक्तिगत रुपमा समेत महिला माथी हुने सवै प्रकारको हिंसा, शोषण, अन्याय अत्याचार र विभेदको अन्त्यका पक्षमा प्रतिवद्धता व्यक्त गर्दै आएका छन् ।
तर समाजभित्रको वास्तविकता त्यस्तो छैन । महिलामाथी हुने हिंसा र जघन्य अपराध (हत्या, बलात्कार, वोक्सी आरोपमा उत्पीडन, छाउपडी, यौनजन्य हिंसा, घरेलु हिंसा, दाइजोको निहुमा कुटपीट र हत्या लगायत) का घटनाहरु भयावह रुपमा निरन्तर घटिरहेकै छन् ।

महिला विरुद्ध हिंसामध्ये पनि सवैभन्दा डर लाग्दो रुपमा जवरजस्ती करणीका घटनाहरु हरेक दिनजसो संचार माध्यममा आइरहदा हाम्रा छोरीहरु कविताहरु मार्फत सन्देश पठाउदै भन्न थालेका छन ‘मलाई पुरुषसंग डर लाग्छ‘, यो कस्तो विडम्वना हो ? स्थिति अति भयावह बन्दैछ । समाजमा व्याप्त हिंसाका घटनाले पराकाष्टा नाघ्न थालेको छ । अवोध छोरीहरुको दिन दहाडै बलात्कारपछि हत्या भएको महिनौ हुदा पनि वास्तविक अपराधि पत्ता नलाग्दा, त्यस यता पनि दर्जनौ यस्ता घटनाहरु घटिरहदा र अस्ती महोत्तरी आज पनि सप्त्तरीमा अर्को वालिकामाथि वलात्कार भएको समाचार आइरहदा हरेक आमा बुवाको मनमा असुरक्षाको ज्वाला दन्कन थालेको छ । यस्तो परिवेसमा मुलुकमा बढ्दो आपराधिक हिंसा निराकरणको पक्षमा हामीसबै एकतावद्ध र गम्भिर रूपमा उभिनु पर्छ ।

तथ्यांक भने झनै डरलाग्दो छ, जुन औसतमा हरेक दिन हाम्रा चारजना आमा, दिदिवहिनी र छोरीहरु यस किसिमको आपराधिक घटनामा पर्न वाध्य भएकाछन ।
त्यसमध्ये पनि ठुलो संख्यामा वालिकाहरु छन, जसले जवरजस्ती करणी के हो भन्ने समेत वुझ्न सक्दैनन । अपांगता भएका महिला र बृद्धा आमाहरु समेत यस्ता अपराधको घटनामा परेका छन् । अझै डरलाग्दो कुरा त यस्ता आपराधिक घटना कुनै अनजान व्यक्तिवाट भन्दा पनि चिनजानका व्यक्ति र आफन्तहरुवाट हुने गरेको छ । आज यी कहालिलाग्दा घटनाका समाचार सुनेर, पढेर वा विवरणको चांगमाथि चर्चा मात्र गरेर वस्ने सुविधा अव हामिलाई छैन । यसैले हिंसा मुक्त समाज निर्माणको निकास हामिहरुको सामुहिक पहल र प्रयासले नै दिनुपर्छ । महिला माथी देशव्यापी रुपमा भएको सवै प्रकारका हिंसा, शोषण, विभेद विरुद्ध हामीहरु पुन एकपटक एकातावद्ध भई अभियानमा लाग्ने संकल्प गरौ ।

नषा सेवन गरेर बलात्कार र बलात्कार पछी हत्याका धेरै घटनाहरु सार्वजनिक भए तापनि नेपालमा कुनै ठोस कानुन व्यवस्था छैन । जब सम्म ठोस कानुन व्यवस्था लागू हुँदैन तब सम्म बलात्कारको घटना कम हुन सक्दैन ।