जनकपुरधाम । धनुषा जिल्ला अदालतको गेट अगाडि मिटरब्याज पीडितको प्रदर्शनका क्रममा भएको आ´त्मदाह प्रयासलाई अदालतको आदेश प्रभावित पार्ने प्रपञ्चका रूपमा हेरिन थालेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ की फुलकुमारी रजकले बुधबार दिउँसो अदालत परिसरको गेट अगाडि शरीरमा पेट्रोल खन्याएर आ´त्मदाहको प्रयास गरेकी थिइन् ।

मिटरब्याजसम्बन्धी मुद्दामा पीडितहरूले अदालतअगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेका बेला रजकले अचानक शरीरमा पेट्रोल खन्याएकी थिइन् ।

प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिएपछि सम्भावित दुर्घटना टरेको थियो । घटनाले अदालत परिसरको सुरक्षा र न्याय सम्पादनको वातावरणमाथि समेत प्रश्न उठाएको छ ।

अदालतमा मुद्दाको सुनुवाइ तथा आदेश प्रभावित पार्ने उद्देश्यले प्रदर्शन वा अन्य दबाबमूलक गतिविधि हुनसक्ने भन्दै कानुन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

अधिवक्ता सर्वोदय ठाकुरले अदालतको गेट अगाडि हुने कुनै पनि प्रकारको प्रदर्शनले न्याय सम्पादनको वातावरणमा असर पार्न सक्ने बताए ।

उनका अनुसार अदालतलाई दबाबमा पार्ने वा आदेश प्रभावित पार्ने गतिविधि हुन नदिन अदालत परिसरलाई निषेधित क्षेत्रका रूपमा कायम गर्न आवश्यक छ ।

‘अदालत स्वतन्त्र र निष्पक्ष रूपमा न्याय निरूपण गर्ने संस्था भएकाले बाह्य दबाब सिर्जना हुने कुनै पनि गतिविधि नियन्त्रण हुनुपर्छ,’ अधिवक्ता ठाकुरले भने, ‘अदालत परिसरमा यस्तो गतिविधि हुन नदिन सुरक्षा निकायले आवश्यक कदम चाल्नुपर्छ ।’