खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४३ वर्षीय नइन्द्रकुमार राईलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आफ्नै ससुराली पुगेका राईले धारिलो हतियार प्रहार गर्दा चार जना घाइते भएका हुन्। घाइते हुनेमा ४० वर्षीया अञ्जना राई, ६२ वर्षीया स्यामाउन राई, नरेन्द्र राई र २५ वर्षीया तेनिना राई रहेका छन्।

घाइतेमध्ये अञ्जनाको टाउकोको पछाडिको भागमा, स्यामाउनको टाउको र दाहिने हातमा तथा तेनिनाको टाउकोमा चोट लागेको छ। उनीहरू तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, नरेन्द्रको दाहिने हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।चारै जना घाइतेलाई उपचारका लागि नगर अस्पताल दुर्छिम लगिएको छ। उनीहरूको त्यहीँ उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राईलाई पक्राउ गरी घटनाको कारण तथा अन्य विवरणबारे थप अनुसन्धान गरिरहेको छ।