जनकपुरधाम । मधेश प्रदेशसहित सम्पूर्ण मिथिलाञ्चलमा आज शनिबार छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

चारदिने छठ पर्वको पहिलो दिन शुक्रबार व्रतालुहरूले नहाय–खाय विधि सम्पन्न गरेका थिए। आज बिहानदेखि व्रतालुहरू निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यको समयमा छठी मइया तथा कुलदेवताको पूजा गरी सख्खर, दूध र चामलबाट तयार पारिएको खीर तथा रोटी प्रसादका रूपमा ग्रहण गर्नेछन्।

खरना विधि सम्पन्न गरेपछि व्रतालुहरू करिब ३६ घण्टे निर्जला व्रतमा बस्ने परम्परा रहेको छ।

छठ पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने महापर्व छठ सम्पन्न हुनेछ।

छठ पर्वले मधेशको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकतालाई थप मजबुत बनाउँदै आएको छ।