जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न!

जनकपुरधाम । धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको जनकपुरधामका सार्वजनिक स्थलहरूमा व्यापारिक विज्ञापनको मनपरी बढ्दै गएको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ।

छठ पर्वजस्तो पवित्र धार्मिक आस्थासँग जोडिएको पर्वमा म्याक्स टाइगरको विज्ञापन, आर्केस्ट्रा तथा खेलमैदानजस्ता गतिविधिका लागि सार्वजनिक स्थललाई प्रचारप्रसारको माध्यम बनाइएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

बाहिरबाट जनकपुरधाम घुम्न आउने पर्यटक तथा आगन्तुकहरूले सार्वजनिक स्थलको सजावट र धार्मिक महत्त्व बोकेका स्थानको तस्बिर खिचेर फर्किने गरेका छन्। तर यस्ता स्थानमा जथाभावी विज्ञापन राखिँदा सहरको मौलिक सौन्दर्य, धार्मिक मर्यादा र सांस्कृतिक पहिचानमा असर पर्ने भन्दै आलोचना भइरहेको छ।

अझ गम्भीर विषय के छ भने, म्याक्स टाइगरको क्यानमै बालबालिका तथा गर्भवती महिलालाई पहुँचबाट टाढा राख्नुपर्ने चेतावनी उल्लेख गरिएको अवस्थामा विद्यालय र अस्पतालको छेउमै उक्त उत्पादनका ठूला विज्ञापन राखिएको विषयले थप प्रश्न खडा गरेको छ।

सार्वजनिक स्थलमा जथाभावी विज्ञापन राख्न कसले अनुमति दियो? विद्यालय तथा अस्पतालनजिक यस्ता विज्ञापन कसरी राखिए? सार्वजनिक स्थलको सौन्दर्य र धार्मिक मर्यादा संरक्षण गर्ने जिम्मेवारी पाएको निकायले अहिलेसम्म अनुगमन तथा आवश्यक कारबाही किन गरेन?

जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान संरक्षण गर्नु स्थानीय सरकार तथा सम्बन्धित निकायको दायित्व हो।

त्यसैले सार्वजनिक स्थललाई व्यापारिक प्रचारको माध्यम बनाउने प्रवृत्ति नियन्त्रण गर्न, विज्ञापनसम्बन्धी मापदण्डको अनुगमन गर्न र नियमविपरीत राखिएका विज्ञापनमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

धार्मिक आस्थाको सम्मान गरौँ, सार्वजनिक स्थलको सौन्दर्य जोगाऔँ र बालबालिकाको हितलाई प्राथमिकता दिऔँ।