काठमाडौं : कला, साहित्य, संगीत र संस्कृतिका धनी मिथिला क्षेत्रको मौलिक खानापान प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीमा मैथिली खानाको प्रदर्शनी भएको छ ।

मिथिला क्षेत्रमा अतिथिलाई सत्कारमा पस्किने मट्का चियादेखि विदाइमा डेजर्टका रुपमा खुवाइने पानसम्मका परिकारलाई ललितपुरको सातदोबाटोस्थित आइएचएम कलेजमा सेफहरुले विविध परिकार बुधबार पस्किएका हुन् ।

नेपाली मौलिक खानापानको प्रवर्द्धनमा काम गर्दै आएको आईएम विथ सेफको आयोजना तथा आइएचएम कलेज र हस्पिटालिटी गाइड्सको संयुक्त आयोजनामा विज्ञ सेफहरु पशुपति पौडेल, महेश साह, सतिस महतो र विकास डंगोललगायतको टिमले मिथिलाको मौलिकता झल्कने गरी मट्का चिया, बगिया, तरुवा, बथुवाको सागको सुप, मिथिला थालि सेट, आँपको अचार, आलु चोखालगायतका परिकारहरु पस्किएका थिए ।

सेफ एसोसिएसन अफ नेपाल क्यानका संस्थापक अध्यक्ष पुष्प थापा मगर, मिथिला संस्कृतविद् धिरेन्द्र प्रेमर्षि, कलाकार अजित शाह, आरएण्डडी सेफ सन्दिप खत्री, आईएचएम कलेजका सीईओ सुराच प्रसाईले मिथिलाको मौलिकता र पहिचानसँग जोडिएको खानाको प्रदर्शनीले समग्र नेपाली खानाको बजारीकरणमा प्रोत्साहनमा जोड दिए ।

सेफ पुष्प थापा मगरले मिथिलाको मौलिक खाना, मिथिला क्षेत्रको मात्रै नभएर सिंगो नेपालकै परिचय भएको भन्दै आफूहरुले यसको प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने बताए ।