धनुषा : लामो समयदेखि थन्किएको जनकपुर–जयनगर रेल्वे सेवा माघ महिनाभित्र संचालनमा आउने रेल्वे कम्पनीले बताउँदै गर्दा स्थानीय भने विभागप्रति पटक्कै विस्वास गर्दैनन् । लामो समयदेखि रेल संचालनमा आउने बताइदै आएको भएपनि बिभिन्न कारण देखाउदै रेल संचालन भने हुन सकेको छैन । भारतबाट दुई वटा रेल खरिद गरिएको ४ महिना भइसक्दा पनि अहिले धनुषाको इनर्वास्थित नेपाली स्टेशनमा थन्काएर राखिएको छ ।रेल अगामी माघ महिना भित्र जसरी पनि संचालनका ल्याउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दावी गरेका छन् । तर जनकपुरका स्थानीयले भने माघ भित्रै रेल संचालन हुनेमा ढुक्क छैनन् ।महाप्रबन्धक भट्टराईका अनुसार आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको विषय सुनिश्चित भइसकेकोले माघ महिनाभित्रै रेल संचालनमा आउने दावी गर्छन ।

रेल संचालनका लागि प्राविधिक तर्फका २६ जना कर्मचारी भारतबाट ल्याइने र बाँकी करिव सय जना कर्मचारी नेपाल तर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको उनले बताए ।प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकको बताउँदै उनले भने, ‘जिटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ, त्यसलाई मुर्त रुप दिन उक्त प्याकेज सहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेका छौ ।’रेल इन्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धि तालिम दिने लगायतका विषय प्याकेजमा समावेश गरिएको उनले बताए ।नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको उनले बताए । त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको उनले बताए । समान्य प्रविधिक कर्मचारीको लागि विगतमा रेल्वेका काम गरेका पुराना इच्छुक करिव ५० जना कर्मचारीलाई ६ महिनाको लागि करारमा नियुक्त गरेर तत्काल रेल संचालन गरिने महाप्रबन्धक भट्टराईले बताए ।भारतीय पक्षसँग भएको सहमति र नेपालको तर्फबाट आवश्यक पर्ने कर्मचारी भर्ना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्मा सहमतिको लागि पठाइसकेको उल्लेख गर्दै उनले भने, ‘अब बस्ने मन्त्रिपरिषदबाट त्यो निर्णय भएलगतै रेल संचालनको काम सुरु हुन्छ, अव रेल संचालनको लागि कुनै समस्या हुदैन ।’रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाको मर्मत सम्भारको काम लगभग पुरा भइसकेको उनी बताउँछन् ।

रेल संचालनको लागि आवश्यक पर्ने अन्य टिकट, सप्mटवेयर समेत तयार भइसकेको उनले बताए ।महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३ सयसम्म तोकिएको छ । त्यसैगरी, प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा ५ गुणा बढी भाडा तोकिएको उनले बताए ।प्रतिकिलोमिटर १५ रुपैयाँ भाडाएक स्टेसनबाट अर्को स्टेसनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्नेछ । दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँच वटा स्टेशन राखिएको छ ।जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ ।स्टेशन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ ।

अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लाग्ने रेललाई ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा उक्त दूरी तय गरिने जनकपुर–जयनगर रेल्वको साईट इन्चार्ज विनोद ओझाले बताए ।मौखिक परीक्षाको माध्यमले नै करारमा ६ महिनाका लागि कर्मचारी भर्ना गर्न आह्वान गरिएको विज्ञापनमा ३२ हजार भन्दा बढीले आवेदन दिएका छन् । तर लोकसेवाले नै कर्मचारी छनौट गर्ने जिम्मेवारी पाएपछि त्यो प्रक्रिया पुरा गर्न नै लामो समय लाग्ने भएकोले तत्काल भारतीय प्राविधिक कर्मचारी, सडक विभाग र रेल्वेका काम गरेका पुराना अनुभवी कर्मचारीकै सहयोग लिएर रेल सञ्चालनको तयारी भइरहेको उनले बताए ।

स्थायी कर्मचारीका लागि लोक सेवा आयोगले पुनः विज्ञापन गरेपनि अहिले करारका लागि आवेदन दिएकाहरुलाई पनि उक्त विज्ञापनमा समावेश गरिने उनले बताए ।अहिले करारमा लागि आवेदन दिएकाहरुलाई पुनःआवेदन दिनुपर्दैन, उनले भने, ‘उनीहरुले दिएको आवेदन हामीले नै लोक सेवा आयोगमा बुझाउँछौ र त्यही अधारमा लोकसेवाले उनीहरुसँग पनि परीक्षा लिन्छ ।’कम्पनीले डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भएका रेल डिजेल र विद्युत दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका रूपमा तयार गरिएको रेल प्रतिघन्टा ११० किलोमिटरको गतिमा चल्न सक्ने बताइएको छ ।एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउटा बोगी (डब्बा)मा ७० सिट छन् । प्रतिकिलोमिटर दुई लिटर डिजेल खपत हुने रेलमा आवश्यकता अनुसार थप चारवटा बोगीसम्म जोड्न सकिने इन्जिनियर ओझाले बताए ।