काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीहरुको परीक्षा रोकेकोप्रति डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।

नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत रहेका डा केसीले नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले अवैध रकम असुली गर्नका लागि विद्यार्थीहरु रामजी राम र पंकज कुमार रामको परीक्षा रोकेको भन्दै आपत्ति जनाएका हुन् ।

शुल्क नतिरेको भन्दै नेशनल मेडिकल कलेजले दुवै परीक्षार्थीको परीक्षा रोकेको थियो ।

“वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले अवैध रकम असुली गर्नका लागि विद्यार्थीहरु रामजी राम र पंकज कुमार रामको परीक्षा रोकेको घटनाको हामी कडा निन्दा गर्छौं ।” मंगलवार एक विज्ञप्ति जारी गर्दै डा. केसीले भने ।

अन्सारी मेडिकल क्षेत्रको माफियाकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा रहेको साथै नेकपाको नेता भएको आरोप लगाएका छन् ।

नेशनल मेडिकल कलेजको अराजक गतिविधिप्रति कुनै चासो नदेखाएको साथै नियमक निकायहरुलाई नटेर्ने र अवैध रुपमा शुल्क अशुली गर्ने संस्थाहरुलाई खारेज गर्न कागजी निर्णय गरे पनि त्यसलाई कार्यान्वयन नगर्ने अवस्थाको अन्त्य गर्न समेत माग गरेका छन् ।

“मेडिकल क्षेत्रको माफियाकरण गर्ने मुख्य पात्रहरु मध्ये एक निज अन्सारी प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संरक्षित मेडिकल कलेज संचालक तथा नेकपा नेता रहेको कसैबाट लुकेको छैन । उनको यस्तो अराजक गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकायलाई नेटेर्ने तथा अवैध असुली गर्ने कलेजहरुको सम्बन्धन खारेजसम्मको निर्णय गर्ने अधिकार र जिम्मेवारी लिएका निकायहरुले खाली कागजी निर्णय मात्रै गर्ने र तिनलाई कार्यान्वयन गराउन नसक्ने लाजमर्दो अवस्थाको तत्काल अन्त हुनुपर्छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

भोलिदेखि दुवै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन र छुटेका विषयको विशेष परीक्षा लिने व्यवस्था गर्न समेत डा केसीले माग गरेका छन् । साथै अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकलहरुको सिट कटौतीदेखि सम्बन्धन खारेजीसम्मको प्रक्रिया अघि बढाउन समेत माग गरेका छन् ।

“भोलिदेखि दुवै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन, हिजो छुटेको विषयको विशेष परीक्षा लिने व्यवस्था गराउन तथा नेशनल मेडिकल कलेज लगायत अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकल कलेजहरुको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराउँछौं । साथै उक्त अबैध अशुलि धन्दामा संलग्न कलेज संचालकलाई फौजदारी मुद्दा चलाउन सम्बंधित निकायलाई आग्रह गर्दछौ । ” डा केसीले भने ।

डा केसी लामो समयदेखि नेपालको चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै आइरहेका अभियन्ता हुन् ।