जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले प्रदेशमा पिछडावर्गको आरक्षणका लागि पहल गर्ने बताए । उनले ओबिसीको विचार र दिशाको खुलेर प्रशंसा गरे ।

राज्यमन्त्री कुशवाहाले प्रदेश सरकार शहिदको बलिदानीबाट स्थापना भएकोले पिछडावर्गसंग कुनै बेइमानी नगर्ने उल्लेख गरे । मौलिक हकको सबालमा नेपालको संविधान विश्वमै सबैभन्दा उत्कृष्ट संविधान रहेको उनले दावी गरे । मन्त्री कुशवाहाले पिछडावर्ग प्रतिष्ठान गठन गर्न ओबिसीलाई सुझाव दिए ।

पिछडावर्ग ओबिसीका संस्थापक अध्यक्ष भरत प्रसाद महतोले ओबिसी आन्दोलनबाट प्राप्त उपलब्धीलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले ओबिसी आन्दोलनबाटै संविधानको पाँचवटा धारामा पिछडावर्गको चर्चा गरिएको औल्याए । नेपालको संविधान २०७२ को धारा १८, ४२, ५१, १५९ र २६७ मा पिछडावर्गको विषय समेटिएको अध्यक्ष महतोले उल्लेख गरे ।

पिछडावर्ग ओबिसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन सत्रमा केन्द्रिय ओबिसी उत्थान विकास समितका सदस्य मनाई महतो, अन्तराष्ट्रिय मगही फाउन्डेसनका अध्यक्ष वीरबहादुर महतो, जनता समाजवादी पार्टीका प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य मिरा साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल, नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद सिंह, लोकदलका केन्द्रिय अध्यक्ष कौशल किशोर सिंहलगायतका अतिथी तथा महाधिवेशन प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

जनकपुर उद्योग वाणिज्य संघमा शुरु भएको पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन माघ १२ गतेसम्म हुनेछ । महाधिवेशनका लागि २१ जिल्लाका २ सय ५५ जना महाधिवेशन प्रतिनीधि रहेको पिछडावर्ग ओबिसी महासभाले जनाएको छ ।

महाधिवेशनले पछिल्लो कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३४ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गर्ने बताइएको छ । महाधिवेशनले निर्वाचन प्रणालीबाट नर्या कार्यसमिति चयन गर्ने जनाएको छ ।