जनकपुरधाम : धनुषामा पैसा लिएर जबरजस्ती करणी गराउने महिलासहित युवक पक्राउ परेका छन्। 

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरबेटीकी १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवलाई आफ्नै कोठामा बोलाई पटक पटक जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ।

बालिका गर्भवती भएपछि उक्त कुरा बाहिरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए। 

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा दुवै जनालाई सार्वजनिक गरिएको छ। 

प्रहरीलाई दिएको बयान अनुसार खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गर्थिन्। गत असारदेखि कात्तिकसम्म यादवसँग पैसा लिएर जबरजस्ती करणी गर्न लगाएकी थिइन् र सोही क्रममा बालिका गर्भवती भइन्। 

बालिका गर्भवती भएपछि उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए। 

परिवारजनको उजुरीपछि दुबै जनालाई बिहीबार लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रानाभाटले बताए। 

गर्भवती भएकी बालिकाको गर्भ पतन गराउने अथवा नगराउने सम्बन्धमा परिवारजनले अहिले निर्णय नलिएको समेत उनले बताए।