जनकपुरधाम : प्रदेश २ का महिलाहरुको सीप तथा कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले अस्थायी राजधानी जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी शुरु भएको छ ।
३ दिनसम्म चल्ने सो महिला हस्तकला तथा प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले गरेकी छिन् ।
महिला हस्तकला प्रदर्शनीको उदघाटन गर्दै मन्त्री महतोले यो प्रदर्शनी महिला उद्यमीहरुलाई सक्षम बनाउन केही हदसम्म सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।
उनले प्रदर्शनीमा महिलाहरुलाई आफ्नो सीपको प्रदर्शन गर्न समेत अपिल गरिन् ।
मन्त्री महतोले कुनै देश वा समाजलाई समृद्ध बनाउनका लागि महिलाहरु समृद्ध तथा खुशी हुनु आवश्यक रहेकोले महिलाहरुको सीप तथा कला प्रदर्शनीका लागि स्थानीय तहरुलाई समेत महिलासंग सम्बन्धित अलग्गै योजना ल्याउन आग्रह गरिन् ।
महिलाहरुको सीप तथा कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा शुरु भएको प्रदर्शनीमा प्रदेश २को ८ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको छ । मेलामा कुल ५० वटा स्टल लगाइएको आयोजकले जनाएको छ ।
महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र शाक्यले बताए ।
प्रदर्शनीमा मिथिला चित्रकला, बाँसका कलात्मक भाँडा वर्तन, माटाका भाँडा, सुतीका कपडाहरु प्रदर्शनीमा राखिएको छ ।
Discussion about this post