इटहरी । नेपालमा राजतन्त्र अन्त्य भएको १८ वर्ष बित्यो । तर, शुभचिन्तकहरुमा राजसंस्थाप्रतिको प्रेम अझै उत्तिकै जिवीत देखिन्छ । यस्तै अगाध प्रेम सुनसरीको ईटहरीका स्थानीय कर्ण विश्वकर्मा सेन्चुरीले देखाएका छन् ।

‘राजपोशाक’ खोसिएर नारायणहिटीबाट बिस्थापित पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपहार दिन भन्दै कर्णले झण्डै पाँच लाख बढी लगानीमा ‘नमूना श्रीपेच’ तयार पारेका छन् । इटहरीमै सुनचाँदी व्यवसाय गर्दै आएका कर्णले श्रीपेचसँगै ‘राजदण्ड’ पनि तयार पारेका छन् ।

इटहरीका कर्ण विश्वकर्मा सेन्चुरीले निर्माण गरेको नमुना श्रीपेच र राजदण्ड ।

देशमा राजा पुनस्थापित हुने वा नहुने भन्दा पनि राजसंस्थाप्रतिको आस्थालाई बचाइरहन उपहार स्वरुप श्रीपेच बनाएको कर्णले जेठोखबरलाई बताए । ‘कतैबाट लाभ लिनका लागि हैन’ कर्णले भने, ‘राजतन्त्रप्रतिको भरोसाका लागि मेरो व्यक्तिगत तर्फबाट उपहार मात्र हो ।’ राजतन्त्र सकिएसँगै श्रीपेजबिहीन बनेका पूर्वराजालाई नयाँ श्रीपेच उपहार दिने सोच अनुसार काम थालेको उनले सुनाए ।

कर्णले एक युट्युब च्यानलसँगको अन्तरवार्तामा भनेका छन्, ‘आफ्नै हातले बनाएको श्रीपेच म आफैले भेटेर हस्तान्तरण गर्नेछु ।’ श्रीपेचको ८० प्रतिशत भाग सक्कलीसँग हुबहु बनावट शैली मिल्ने कर्णले बताए । कर्णले तयारी श्रीपेचलाई आफ्नो सामाजिक सञ्जालमा समेत अपलोड गरेका छन् । जसलाई राजसंस्थाप्रति आस्था राख्ने सयौँले शेयर र प्रतिक्रियासमेत दिएका छन् ।

सक्कली श्रीपेचबारे तपाईलाई थाहा छ ?
अहिले संग्राहलयमा राखिएको सक्कली श्रीपेच परिमार्जनसहित बनाउदा एक करोड ३५ लाख रुपैयाँ खर्च भएको थियो । राजसंस्थामा प्रचलित श्रीपेचलाई राजा वीरेन्द्रको पालामा थप आकर्षक परिमार्जनसहित बनाइएको थियो । २०६५ साल जेठ २९ गते राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडेर जाँदैगर्दा श्रीपेच तत्कालीन सरकार (नेपाल सरकार)को जिम्मा लगाएका थिए । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सुरक्षा सचिवहरू उमेश मैनाली, गोविन्द कुसुम र वामन न्यौपाने साक्षी बसेर श्रीपेच सरकारलाई जिम्मा दिइएको थियो ।

सुन, मोति, हिरा, पन्ना, चाँदीजस्ता बहुमूल्य धातुले बनेको सक्कली श्रीपेचमा संसारबाटै लोप हुन लागेको ‘हुमायो’ नामक चराको प्वाँख राखिएको छ । बिक्रम सम्बत् २०२८ सालमा राजा महेन्द्रको निधनपछि वीरेन्द्रको शासनकाल सुरु भयो तर, वीरेन्द्रको टाउकोमा श्रीपेच अटेन । तैपनि तत्कालका लागि काम चलाइइएको थियो । पछि दरबारसँग नजिक मानिने बानेश्वरका प्रेमलाल श्रेष्ठले तीनपटक गरेर परिमार्जनसहित श्रीपेच बनाएका थिए । २०३१ फागुन १२ गते राजा वीरेन्द्रले शुभ राज्याभिषेकको दिन आफ्नो टाउकोमा अट्ने बनाइएपछि नयाँ श्रीपेच पहिरिएका थिए ।