काठमाडौं । जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को बीचमा भएको तीन बुँदे सम्झौतालाई स्वागत गरेका छन् ।सशस्त्र आन्दोलनमा रहेका नेकपा विप्लव समूह शान्ति प्रकृयामा आउनु राम्रो काम भएको बताउँदै यसलाई राजनीतिमा सकारात्मक कदमको रुपमा लिनुपर्ने बताए ।‘अब देशमा सशस्त्र आन्दोलनको आवश्यकता छैन, शान्तिपूर्ण आन्दोलनले आफ्ना अधिकार प्राप्त गर्न सकिन्छ’ उनले भने ।

अध्यक्ष यादवले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेससँग विभेद गरेको बताए ।

उनले भने, ‘पहाडका लागि एउटा निर्णय मधेशको लागि अर्को निर्णय हुनुहुँदैन, सशस्त्र आन्दोलनमा रहेकालाई मूलधारमा ल्याइएको छ तर शान्तिपूर्ण आन्दोलन गरेका मधेशी नेताहरुलाई मुद्दा लगाइएको छ भने कतिपयलाई थुनामा राखेका छन्, अब उनीहरुलाई पनि छाड्नुपर्छ ।’यादवले थप भने, ‘थरूहट आन्दोलनमा लगेका रेशम चौधरीलगायत मधेश आन्दोलनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता पनि थुनामा रहेका छन् । उनीहरुमाथि मुद्दा लगाइएको छ ती सबै फिर्ता लिएर थुनामा रहेकालाई रहाई गर्नुपर्छ ।